बागमती प्रदेशका नयाँ मन्त्रीलाई बधाइ दिन आउनेहरुको अझै लर्को, आफ्ना क्षेत्रमा बजेट दिन र जागिर लगाइदिन आग्रह

जनपत्र
२३ माघ २०७९, सोमबार ०७:२५

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद्दलाई पूर्णता दिएको दुइ साता पुग्न लागिसक्यो । तर, पनि मन्त्रालयहरुमा नयाँ मन्त्रीहरुलाई खादा र माला लगाउन आउने र बधाइ दिन आउनेहरुको लर्को घटेको छैन ।

माघ ११ गते प्रदेशका ११ वटा मन्त्रालयमा ११ जना मन्त्री चयन गरेर सपथ खाएको आज १२ दिन पुगेको छ । तै पनि मन्त्रालयका कामहरुलाई गति दिनुको सट्टा बधाइ दिन आउने र बजेट माग्न आउनेहरुको लर्को अझै सम्म पनि घटेको छैन ।

प्रदेशका मन्त्रीहरुलाई बधाइ दिन आउने, बजेट माग्न आउने, आफ्ना कार्यकर्तालाई जागिर लगाइदिनुपर्यो भन्ने, आफ्ना क्षेत्र, टोल, वडाका योजनाहरु लिएर आउनेहरुको भीड मन्त्रालयमा नघटेको हो । मन्त्रालयमा बधाइ दिन र बजेट माग्न आउनेहरु मन्त्रीको पार्टी निकटका सामान्य कार्यकर्ता, आफन्त देखि प्रदेशका सांसदहरु समेत रहेका छन् ।

चालु आर्थिक वर्षको सात महिना बितिसक्दा मन्त्रालय र मातहतका कार्यालयहरुका बजेट खर्च हुनेगरी धेरै कामहरु हुन सकेका छैनन् । तर, मन्त्रीहरु नियुक्त भएर आएपछी आफ्ना मन्त्रालयका कामको गतिलाई अगाडी बढाउनै समस्या हुनेगरी बधाइ दिन आउने र अघिल्लो सरकारले बजेट ल्याइसकेको अवस्थामा बजेट माग्न आउनेहरुको लर्कोले थप समस्या भएको मन्त्रालयका कर्मचारीहरु वताउँछन् ।

प्रदेशको मन्त्रालयका सचिब र कर्मचारीहरु बधाइ दिन आउनेहरुको लर्कोका कारण आफ्ना नियमित कामहरुको जानकारी गराएर अगाडी बढ्नका लागि समेत समस्या भएको वताउँछन् ।

आइतबार सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाललाई भेट्न आउनेहरुको खचाखच थियो । मन्त्रालयमा बस्ने ठाउँ समेत नभएकाले बाहिर उभिएर आफ्नो पाले कुरेकाहरु धेरै थिए । धेरैले मन्त्रीलाइ बधाइ दिने अनी आफ्ना क्षेत्रमा विकासका बजेट पारिदिन आग्रह गरे । त्यसपछी आफ्ना नजिकका कार्यकर्ता र आफन्तलाइ जागिरमा लगाइदिन आग्रह गर्नेहरु पनि त्यतीकै रहेका थिए ।

मन्त्री दुलाललाई मात्र होइन । अरु सबै मन्त्रालयका तुलनात्मक रुपमा भीड कम छ । तर, भेट्न आउनेहरु त्यतीकै रहेका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री उद्धव थापा, आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पोखरेल, स्वास्थ्य मन्त्री मेश्वर श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठ, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्री, डम्बर तामाङ, वन तथा वातावरण मन्त्री राजु विष्ट अहिले आफ्ना मन्त्रालयको कामको विवरण लिने र थप काम अगाडी बढाउनेगरी लाग्नु भएको छ । तर, बधाइ दिन आउने र आफ्ना स्वार्थ अनुकुलका काम लिएर आउनेहरुको भिडले तिब्र गतिमा काम गर्न सकिरहेका छैनन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*