रास्वपाको बैठक बस्दै, गृहकाे सट्टा भौतिक पूर्वाधार मन्त्रालय दिने प्रधानमन्त्रीकाे प्रस्ताव

जनपत्र
२२ माघ २०७९, आईतवार ०८:१२

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिनेछ। पार्टीका सभापति रवि लामिछानेले नागरिकता खारेजसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएपछि रास्वपाले आफूले गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेको थियो।

बिहीबार बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिएको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन्। सोही विषयमा निर्णय लिन बैठक बोलाइएको एक नेताले जानकारी दिए।

शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले आज फेरि बस्ने गरी बैठक सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनले आइतबार बिहान साँढे ११ बजे अर्को बैठक बसेर आवश्यक निर्णय गर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*