ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताउनुभएको छ । बिहीवार आज ललितकला गुठी काठमाण्डौको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताउनु भयो । उहाँले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताउनु भयो । उहाँले ललितकला प्रतिष्ठानले संस्थागत स्वरुप ग्रहण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने, देशभित्र मात्र नभइ देश बाहिर पनि महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । म पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठानलाई अघि बढाउनेबारे तपाईँहरुकै सल्लाह, सुझावअनुसार अघि बढाएको हो, अहिले स्थापित भएर गठन भइ १२ वर्ष पूरा भइसकेको छ । यसले संस्थागत स्वरुप ग्रहण गर्दैछ । यो क्षेत्रमा तपाईँहरुले दिनुभएको योगदानलाई राष्ट्रले कदर गरेको छ ।’
प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौती भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवर्द्धनका लागि आवश्यक पहल गर्ने बताउनुभयो। ‘आउने दिनमा आउने सम्भावना के छन्, चुनौती के छन् ? लिखित रुपमा प्रधानमन्त्री कार्यालयमा दिनुहोला । मैले आफ्नो ठाउँबाट गर्ने सहयोग प्राप्त हुनेछ ’उहाँले भन्नुभयाे ।