गौरीका र एलेक्जेन्डरको नयाँ कीर्तिमान

जनपत्र
१० श्रावण २०७६, शुक्रबार ०६:२७

गौरिका सिंह र एलेक्जेन्डर शाहले दक्षिण कोरियामा जारी अठारौं फिना विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । गौरिकाले बिहिबार महिला एक सय मिटर फ्रिस्टाइलमा एक मिनेट ००.६२ सेकेन्डमा दुरी पूरा गर्दै आफ्नै नाममा रहेका एक मिनेट ००.७९ सेकेन्डको कीर्तिमानमा सुधार गरेकी हुन् ।

९६ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा गौरिका समग्रमा ६९ औं स्थानमा रहिन् । एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रिस्टाइलमा ५६.२८ सेकेन्डको कीर्तिमान रचे । उनले २०१७ मा काठमाडौंमा भएको सातौं एनएस कप पौडीमा शिरीष गुरुङले बनाएको ५७.८८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

एलेक्जेन्डरको स्पर्धामा एक सय २३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी १०२ औं स्थानमा रहे । शाहले शुक्रबार ५० मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । जुलाई २८ तारिखसम्म सञ्चालन हुने प्रतियोगिता नेपालबाट  पुरुष÷महिलामा समान दुई दुई खेलाडीको सहभागिता रहेको छ । पुरुषमा शुभम् श्रेष्ठले ५० र एकसय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका छन् ।

यसैगरी महिलामा गौरिकाले एक सय र दुई सय मिटर फ्रिस्टाइल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गरेका छन् । गौरिका यसअघि दुई सय मिटर फ्रिस्टाइलमा हिट चरणबाटै बाहिरिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*