पर्यटकीय केन्द्र बन्दै जुम्लाकाे तातोपानी धारा

जनपत्र
१७ माघ २०७९, मंगलवार १४:३५

जुम्ला – तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन् । चिसो माैसममा ताताेपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन् । तातोपानी गाउँपालिका वडा नम्बर २ मा रहेको जर्मी गाउँमा अहिले दैनि एक सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।

शनिवार अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म  आम्दानी हुने गरेको छ । तर गर्मी सिजनमा भने पर्यटककाे सङ्ख्या घट्ने गरेकाे उहाँले बताउनु भयाे । ताताेपानी धाराबाटै वार्षिक करिब १२ देखि १४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेकाे छ ।

अहिले विदेशी नागरिकलाई प्रवेश शुल्क एक सय तथा अन्यलाई ३० रुपैयाँ टिकट दर कार्यान्वयन भइरहेको कर्मचारी रावतले बताउनुभयो । धाराको सञ्चालन तथा व्यवस्थापन वियमा तातोपानी गाउँपालिकाले कार्यविधि समेत बनाएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्रमान बुढाले कार्यविधि भर्खर पास भएको र कार्यविधि अनुसार नयाँ शुल्क निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । अहिले धाराको व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयले लिएको र ३ जना कर्मचारी रेखदेखका लागि राखिएकाे छ ।

तातोपानीमा नुहाउन पाउँदा भने पर्यटक खुशी देखिन्छन् । जुम्लामा हिउँदे सिजनमा चिसो पानीमा नुहाउन कठिन हुने भएकाले तातोपानीमा नुहाउनेको भिड पनि लाग्छ । अझ शनिवारको दिन कार्यालयका कर्मचारी तथा आन्तरिक पर्यटकहरु नुहाउन आउने गरेका छन् । तातोपानीमा नुहाउन आएका जुम्ला हिमा गाउँपालिकाका देविकृष्ण अधिकारीले तातोपानीले नुहाउने मात्रै नभइ औषधि समेत हुने विश्वास रहेको बताउनुभयो ।

पछिल्लो समय तातोपानीमा सरसफाइ पनि निरन्तर गर्ने गरिन्छ । गाउँपालिकाले तातोपानीको सरसफाइमा बढी जोड दिएको अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताउनु भयाे । उहाँले जिल्लाकै पर्यटकीय केन्द्र तातोपानी भएको हुँदा यसलाई विशेष ध्यान दिने बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*