नेप्सेमा ४१ अंकको गिरावट, कारोबार रकम साढे ३ अर्ब नजिक
काठमाडौं । सेयर बजारमा उच्च गिरावट भएको छ । नयाँ सरकार गठनसँगै माघ दोस्रो साताबाट बढ्न सुरु भएर २२०० अंकभन्दा माथि पुगेको नेप्से दुई साता यता सामान्य घटबढ भइरहेको थियो । सोमबार भने नेप्सेमा १.९० प्रतिशतको गिरावट भएको हो ।
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि धितोपत्रको सार्वजनिक निष्कासनको स्वीकृतिमा आर्थिक लेनदेनको आरोप लागेपछि त्यसको प्रभाव सोमबार सेयर बजारमा पनि देखिएको छ ।
सोमबार बजार परिसूचक नेप्से ४१.१६ अंकको गिरावट हुँदा २१२७.३७ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा बजार परिसूचकमा करिब २ प्रतिशतको गिरावट भएको हो । होटल तथा पर्यटन उपसूचक ३.६१ प्रतिशत र वित्त कम्पनी उपसूचक ३.४२ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक २.८९ प्रतिशतले गिरावट भएको छ । त्यस्तै निर्जीवन बीमा उपसूचक २.८५ प्रतिशत र बैंकिङ उपसूचक १.१५ प्रतिशतले घटेको छ ।
नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने करिब साढे ३ अर्ब पुगेको छ । सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको छ । जसमध्ये सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक १७ करोड ६५ लाख ४० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको १० करोड ४८ लाख ९३ हजार र पिपुल्स हाइड्रोपावरको ९ करोड ५६ लाख ३० हजारको कारोबार भएको छ ।