हेटौंडामा एक लाख राशिको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार डा. प्रधानलाई

जनपत्र
१५ माघ २०७९, आईतवार २०:००

मकवानपुर/ भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार यस वर्ष वरिष्ठ गायक, संगीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गरेको छ।

आइतबार हेटौँडामा विशेष कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले १ लाख पुरस्कार राशिको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार डा. प्रधानलाई प्रदान गरिएको हो। पुरस्कार कार्यक्रमका अतिथि सहित्यकार तुल्सी थापाले प्रदान गरे।

प्रतिष्ठानले २०६४ सालमा स्थापना गरेको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार भीम विरागको स्मृति दिवसको अवसर पारेर प्रदान गरेको हो। पुरस्कार हेटौँडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गरेका हुन्।

पुरस्कार समर्पण कार्यक्रममा डा. प्रधानले आफूले स्वर दिएका गीतहरूसमेत गाएर सुनाएका थिए। उनलाई मकवानपुरे गायिका सुनिता बुर्लाकोटीले साथ दिएकी थिइन्।

२०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको ’के सोचेँ मैले के भयो अहिले’, ’छातीमा मेरो यो छोटो भोटो’, ’भुल हो तेरो भागी हिँड्नु जीवनदेखि’, ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’, ’पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे’, ’अभागी आमा कुन देशमा’, ‘विपना नभई बाँचिदिने मभित्रका मेरा सपना’लगायत ४ सय बढी गीतमा स्वर दिएका छन्।

यस्तै, डा. प्रधानले नेपाली चलचित्र कस्तुरीको निर्देशनका साथै विभिन्न चलचित्रहरूमा संगीत र गीतमा स्वरसमेत दिएका छन्। यसैगरी, डा. प्रधानका उपन्यास, बाल गीतिसंग्रह, कथासंग्रह, गीतसंगीतसँग सम्बन्धित पुस्तकहरूसमेत प्रकाशित छन्।

यसअघि बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दाबा ग्याल्मो (२०७७) र दीपक जंगम (२०७८) पुरस्कृत भइसकेकाे अध्यक्ष आचार्यले जानकारी दिए।

वरिष्ठ कलासाधक कवि एवं गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्मानस्वरूप भाषा साहित्य र कला क्षेत्रको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य संगीत सांस्कृतिक र कला क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तिलाई विभिन्न १२ वटा पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिए।  नयाँ पत्रिकाबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*