बागमती प्रदेशको मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कौको
हेटौंडा । बागमती प्रदेशका केही मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना छन् तर, नाम र फोटो अर्कौको राखिएको पाईएको छ । मन्त्रालयका आधिकारिक वेबसाइट हेर्दा यस्तो फेला परेको हो ।
अझ प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आधिकारिक वेबसाइटमा त दुइ जनालाई मन्त्री बनाएर राखिएको छ । एक जना मन्त्री सचिब भन्दा माथी अहिलेका मन्त्रीलाई तहगत रुपमा सचिब भन्दा मुनी राखिएको छ ।
कृषि मन्त्रालयको वेवसाइटमा धेरै नै लापरबाही गरिएको छ । यस मन्त्रालयको मन्त्रीका रुपमा दुइ जनाको फोटो राखिएको छ । अझैपनि मन्त्रीका रुपमा मुख्यमन्त्री तथा मन्त्री भनेर शालिकराम जम्मकट्टेलको नाम छ र फोटो पनि उहाँकै राखिएको छ । मन्त्रालयका सचिब डाक्टर शरण पाण्डेको फोटो भन्दा माथी मुख्यमन्त्री तथा मन्त्री समेत भनेर जम्मकट्टेलको फोटो राखिएको छ ।
वेवसाइटमा सचिबको भन्दा मुनी प्रवक्ताको तस्बिर र नाम राखिदै आएको स्थानमा फेरी मन्त्री केशब प्रसाद पोख्रेलको नाम र फोटो राखिएको छ । प्रदेशको यस मन्त्रालयको आधिकारिक वेवसाइटमा आम नागरिकले हेरेर के बुझ्न सक्छन् ? एउटै मन्त्रालयमा दुइ जना मन्त्री भनेर फोटो राखिएको वेवसाइट भिजिट गर्नेहरु वताउँछन् ।
मन्त्रीको फोटो परिवर्तन गर्नका लागि लगाएको तर, त्रुटी भएको पाइएमा तत्काल सच्याउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलक नाथ कंडेलले वताउनुभयो ।
बागमती प्रदेशमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिइसकिएको छ तर, त्यस मन्त्रालयको मन्त्रीमा शालिकराम जम्मकट्टेलको नाम र फोटो राखिएको छ । यही माघ १० को प्रदेशको मन्त्रिपरिषद्को बैठकले उद्योग, पर्यटन र सहकारी मन्त्रालयलाई एउटै मन्त्रालय बनाएको छ । तर, पहिलेकै मन्त्रालय राखिएको छ र मन्त्रीका रुपमा मुख्यमन्त्रीको फोटो राखिएको छ ।
यसैगरी बागमती प्रदेशमा भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारण मन्त्रालय अरु मन्त्रालयमा गाभिइसकिएको छ । नभएको मन्त्रालयका मन्त्रीका रुपमा मुख्यमन्त्री तथा मन्त्रीका रुपमा जम्मकट्टेलको नाम र फोटो राखिएको छ ।
यसैगरी प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ । तर, यो मन्त्रालय अझै वेवसाइटमा भने देखिन्छ । यसको मन्त्रीका रुपमा पनि जम्मकट्टेलको नाम र फोटो राखिएको छ ।
यसैगरी प्रदेशमा संस्कृति तथा पर्यटन मन्त्रालयमा अरु मन्त्रालयहरु गाभिएका छन् । तर, यस मन्त्रालयको वेवसाइटमा मन्त्री डम्बर तामाको फोटोको मुनी भने पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय लेखिएको छ । वेबसाइटकै माथी पुरानै नाम छ भने तल भने अहिले गाभिएका मन्त्रालय सहितको नाम लेखिएको छ ।
प्रदेशका अरु मन्त्रालयहरु मात्र होइन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा पनि पुरानै १४ वटा मन्त्रालयहरुको नाम र त्यस मन्त्रालयहरुको लिन्क राखिएको छ । मुख्यमन्त्री कार्यालयलेनै माघ १० गतेको मन्त्रिपरिषद् बैठकमानै १४ वटा मन्त्रालयलाई घटाएर ११ वटामा कायम गरिएको छ । तर, मुख्यमन्त्री कार्यालयको वेबसाइटमा पुरानै मन्त्रालयहरुको नामावली राखिएको छ ।
विश्वका कुनैपनि स्थानबाट मनत्रालयका विषयमा आधिकारिक जानकारी लिनुपर्दा मन्त्रालयको वेबसाइटमा गएर हेरिन्छ र तर, प्रदेशका मन्त्रालयमा मन्त्री परिवर्तन भएको पाँच दिन वितीसक्दा पनि पहिलेकै मन्त्री राखिनु, दुइ जना मन्त्री एउटा मन्त्रालयमा राखिनु कर्मचारीहरुको लापरबाहीका कारण यस्तो भएको हो ।
वेबसाइटमा मन्त्रालयको नाम परिवर्तन गर्न, मन्त्रीको नाम र फोटो परिवर्तन गर्नका लागि ठुलो विषय होइन एकैछिन मात्रको काम हो । तर, मन्त्रालयहरु गाभिएको र मन्त्री परिवर्तन भएको यतीका दिन सम्म पनि आफ्ना आधिकारिक वेबसाइटमा गलत सूचना राख्नु लापरवाही रहेको मन्त्रालयको वेबसाइट हेर्दै आएकाहरु वताउँछन् ।
बागमती प्रदेशका बिभीन्न मन्त्रालयमा आज बिहान सम्म यस्तो देखिएका छन् ।