अस्कलमा शिक्षकहरूबीचको द्वन्द्वले विद्यार्थी मारमा

जनपत्र
१२ माघ २०७९, बिहीबार १०:४१

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा शिक्षकहरुबीचको द्वन्द्वले विद्यार्थी मारमा परेका छन् ।

चलर अफ साईन्स इन कम्प्युटर साईन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) पाँचौ र सातौं सेमेष्टरका विद्यार्थी शिक्षकहरूखको आन्दोलनको कारण पढ्न नपाएको बताउँछन् ।

पाँचौ सेमेष्टरका विद्यार्थी निशान मैनाली पुरै सेमेष्टरभरि जम्मा ३२ दिन पढेर परीक्षाको तयारीमा जुट्न परेको बताउँछन् ।

क्याम्पस र शिक्षकहरुको लापरबाहीले विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको भन्दै उनले आक्रोस पोखे ।

गत ९ भदौमा चौथो सेमेष्टरको लिखित परीक्षा सकियो । त्यसको एकाध दिनमा प्रयोगात्मक हुनुपर्नेमा १२ दिनपछि मात्र भयो । प्रयोगात्मक परीक्षा सकेर पाँचौ सेमेष्टरको कक्षा शुरु हुुनुपर्थ्यो, तर तलब नपाएको भन्दै शिक्षकहरुले ‘पेन डाउन’ गरे ।

त्यसपछि दशैंतिहारको विदा भयो । तिहार लगत्तै पढाई शुरु हुनुपर्ने फेरि शिक्षकले तलब नपाएको भनेर कक्षामा गएनन् । प्रदेश र प्रतिनिधि सभा सदस्य चुनावको विदा हुनुअघि जम्मा पाँच दिन पढाइ भएको विद्यार्थीहरु बताउँछन् ।

चुनावपछि मंसिर ९ गतेबाट पढाइ नियमित हुँदै थियो । पुसको १० गते फेरि शिक्षकहरुले ‘पेन डाउन’ गरे । निहुँ उही थियो- तलब । पढाइ हुनपर्ने माग लिएर क्याम्पस प्रमुख र विभागीय प्रमुखलाई पटक-पटक भेट्दा पनि बेवास्ता भएको विद्यार्थीहरु बताउँछन् ।

पढाईको विषयमा क्याम्पस प्रमुख र विभागीय प्रमुख एकअर्कालाई दोषारोपण गर्दै पन्छिने गरेको विद्यार्थी रमेश पोख्रेल बताउँछन् । ‘तलबको मामिला त उहाँहरुले सल्टाउनपर्ने हो नि’, उनले भने, ‘तर, हामीले पटक-पटक भेट्दा उहाँहरु एकअर्कालाई देखाउँदै पन्छिनुभयो ।’

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयले माघ २७ गतेदेखि सञ्चालन हुने परीक्षा तालिका निकालेपछि विद्यार्थीहरू फेरि पढाइ हुनुपर्ने माग लिएर विभागीय प्रमुख कहाँ पुगे । त्यसपछि पुसको तेस्रो हप्ताबाट सुरु भएको पढाइ शिक्षकहरुको पेन डाउनका कारण फेरि रोकियो । कारण उही थियो- तलब ।

भर्ना, पढाइ, परिक्षा शुल्कको नाममा मोटो रकम असुल्ने तर नपढाउने प्रवृत्तीले आजित बनाएको विद्यार्थीहरु बताउँछन् । ‘पढाउने शिक्षकहरुले तलव पाउनुपर्छ भन्नेमा कुनै प्रश्न रहेन’, एक विद्यार्थी भन्छन्, ‘विद्यार्थीबाट टन्न पैसा उठाएर शिक्षकलाई तलब नदिने क्याम्पस प्रशासनलाई के भन्ने ? यसमा छानबिन हुनुपर्दैन ?’

क्याम्पसले चार वर्षे कार्यक्रमको लागि २ लाख ५३ हजार शुल्क तोकेको छ । पढाई भने सातौ सेमेष्टरमा पनि नियमित नहुने उनले बताए ।

छैटौं सेमेष्टरको परीक्षा दशैंअगाडि सकिएको थियो । त्यसहिसाबले तिहार लगत्तै सातौं सेमेष्टरको कक्षा सुरु हुनुपर्थ्यो तर भएन ।

‘बल्ल १५ दिन जत्ति भएको छ कक्षा पढाइ भएको’, विद्यार्थी यज्ञराज न्यौपाने भन्छन्, ‘एक सेमेष्टरमा सैद्धान्तिक ९० दिन र प्रयोगात्मक पढाइ हुनुपर्छ, तर अस्कलमा हुँदैन ।’

पढाई हुँदा पनि समस्यै समस्यामा घेरिएर पढ्न बाध्य हुन परेको उनले बताए । न्यौपानेका अनुसार अस्कलमा काम लाग्दो ल्याब नै छैन, कक्षा कोठाको ठुलो अभाव छ । पुस्तकालयमा विद्यार्थीलाई चाहिने किताबहरु पाइँदैन ।

‘साइन्स क्याम्पस भनेको छ, ल्याबमा सबै कम्प्युटर चल्दैनन्’, उनी भन्छन्, ‘कक्षामा सिट नपुगेर धेरैजसो विद्यार्थीले उभिएर लेक्चर सुन्न र नोट गर्नपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*