बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा नमिल्दै मन्त्री बन्न तीव्र लबिङ

जनपत्र
९ माघ २०७९, सोमबार ०७:३७

मकवानपुर । बागमती प्रदेशमा सरकार गठन भएको दुई साता बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ गर्दैगर्दा सत्ता साझेदार दलका सांसदहरुले भने मन्त्री बन्न लबिङ तीव्र पारेका छन् ।

उनीहरु आफू अनुकुल मन्त्रालयका लागि पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटमा व्यस्त बनेका हुन् ।  हाल प्रदेशमा सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रबाट मन्त्रीमा ८ जनाको चर्चा रहेको छ । जसमा प्रदेशसभाकी पूर्वउपसभामुखसमेत भइसकेकी राधिका तामाङ, पूर्वमन्त्री युवराज दुलाल ‘शरद’, कुमारी मोक्तान, सरल सहयात्री, गंगा नारायण श्रेष्ठ, युवराज चौलागाई, प्रेमबहादुर पुलामी ‘छिन्तु’ र युवराज चौलागाईंको नाम चर्चामा रहेको छ ।

यसैगरी सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमालेबाट भने प्रकाश श्रेष्ठ, केशवप्रसाद पोखरेल, भारती पाठक, एकालाल श्रेष्ठ, अमन कुमार मास्के लगायतको नाम चर्चामा छ । एमालेबाट जगन्नाथ थपलिया यसअघि नै मन्त्री बनिसकेका छन् भने उपसभामुखमा अप्सार चापागाईं निर्वाचित भइसकेकी छिन् ।

यस्तै राप्रपाबाट मन्त्रीमा कुमारी तामाङ, राजु विष्ट, डम्बरबहादुर तामाङ, लक्ष्मी  घिमिरे, राजेन्द्र प्रजापति लगायतले आकांक्षा व्यक्त गरेका छन् । यसअघि राप्रपाबाट प्रदेशको सभामुखमा भुवन कुमार पाठक निर्वाचित भइसकेका छन् भने उद्धव थापा मन्त्री बनिसकेका छन् ।

सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यपनि मन्त्रीको लागि तीव्र लविङमा छन् । यस्तै सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले पावरफुल मन्त्रालयमा दाबी गरिरहेको छ । एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल, लक्ष्मण लम्साल, बसन्तप्रसाद मानन्धर, रमा आले मगर, राजेन्द्रमान श्रेष्ठ लगायत मन्त्रीको दाबेदार छन् । सरकारलाई विश्वासको मत दिएको कांग्रेस भने प्रतिपक्षमा रहने छ ।

बागमती प्रदेशमा कुल ११० सदस्यमध्ये कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकीपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा सत्ताको बागडोर सम्हालेका जम्कट्टेल भने मन्त्रालयको भागबण्डाको लफडामा फसेका छन् । भागबण्डा मिल्न नसकेकै कारण उनले विश्वासको मत लिएपछि पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् । सोही कारण उनी हाल ३ सदस्यीय मन्त्रिपरिषद्मै सीमित भएका छन् ।

उनले गत २६ गते शपथ ग्रहण गरेलगत्तै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई मन्त्री नियुक्त गरेका थिए । वजनदार मन्त्रालय मागेका थापालाई सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा मिलाउन समस्या हुने देखिएपछि हालसम्म मन्त्रालयको जिम्मेवारी दिइएको छैन । रातोपाटीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*