लागूऔषधसहित ११ जना पक्राउ

लागूऔषध सेवन तथा ओसारपसार गर्ने विभिन्न स्थानबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । शनिबार विभिन्न स्थानबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ७ ग्रामसहित झापा मेचीनगर नगरपालिका–७ घर भएका ३१ वर्षीय अमित राजबंशीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदैगरेको म.प्र.०३–००१ ख ८११० नम्बरको बसलाई जाँच गर्नेक्रममा सो वस्तु फेलापारी पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी महानगरपालिका–१३ कैलाली गाउँ बस्ने ३२ वर्षीय रोहित भट्टलाई अवैध लागूऔषध ब्राउनसुगर ४ सय ४० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने बझाङ केदारस्युँ गाउँपालिका–७ काडाचौकी घर भएका ४० वर्षीय करन धामीलाई अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ १५ केजी ५ सय २० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको संयुक्त टोलीले भिमदत्त नगरपालिका–३ तिलकपुरस्थित सिचाई नहरको किनारबाट धामीलाई ४ केजी ७ सय ७० ग्रामसहित पक्राउ गरेको हो । अनुसन्धानको क्रममा धामीले सोही ठाउँस्थित उनकै बजै नाता पर्ने राईमतीदेवी बोहराको घरमा राखेको थप १० केजी ७ सय ५० ग्राम चरेश जस्तो देखिने पदार्थ फेला परेको हो ।
यसैबीच, नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, नुर्फिन २१ एम्पुल र डाईजेपाम २१ एम्पुलसहित चितवन भरतपुर महानगरपालिका–१६ बस्ने २३ वर्षीय सबिन तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.८ ख ८८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध लुपिजेसिक २९ एम्पुल, ऐभिल २९ एम्पुल, फेनारगन २९ एम्पुल र डाइजेपाम २९ एम्पुलसहित बेलबारी नगरपालिका–१ बस्ने ३४ वर्षीय उपेन्द्र खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदैगरेको को.८ प ६५६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक खड्कालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सबैप्रति आवश्यक कारवाही जारी गरिएको प्रहरीले जनाएको छ ।