अर्थ मन्त्रालयले १५ प्रतिशत खर्च कटौती गर्ने

अर्थ मन्त्रालयले चालू प्रवृत्तिका सरकारी खर्च १५ प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । मन्त्रालयले चालू खर्च घटाउने मापदण्ड, २०७९ लागू गर्दै मातहतका निकायहरूमा मापदण्ड कार्यान्वयन गर्न परिपत्र गरिसकेको छ । मन्त्रालयले १७ वटा शीर्षकमा मितव्ययिता देखाउने भन्दै नौ करोड ५७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै खर्च कटौती कार्यान्वयन गर्न निर्देशन दिएका मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । उनले भने, ‘बजेटमै चालू खर्च १५ प्रतिशत कटौती गर्ने उल्लेख छ । अर्थ मन्त्रालय पनि एउटा कार्यान्वयन गर्ने निकाय हो, त्यसैले आफैँबाट यसको सुरुवात भएको छ ।’
कुन–कुन शीर्षकमा कटौती ?
मन्त्रालयले स्वदेशी तथा वैदेशिक भ्रमणमा कटौती गर्दै ५३ लाख ५० हजार रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ । अति आवश्यकबाहेकका स्वदेश तथा वैदेशिक भ्रमणलाई निरुत्साहित गर्ने मापदण्डमा उल्लेख छ । त्यस्तै, दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भए मात्र लुब्रिकेन्ट फेर्न निर्देशन दिएको छ । यसका लागि ३० लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।
अतिआवश्यक पर्नेबाहेकका थोरै वा पटकेका रूपमा प्रयोग हुने सामान स्टक नराख्ने भनिएको छ । जसमा हाल एक करोड २३ लाख रुपैयाँ विनियोजित छ । सम्भव भएसम्म फर्निसिङलगायतका नयाँ सामान नकिन्न भन्दै नौ लाख रुपैयाँ छुट्याइएको छ । पत्रपत्रिका खरिदमा समेत कटौती गरेर ३२ लाख ४० हजार छुट्याएको छ । मन्त्रालयले नियमित छाप्ने बजेटसम्बन्धी पुस्तक वा पर्चाहरू छाप्न निरुत्साहित गर्ने उल्लेख छ । सकेसम्म वेबसाइटलाई प्राथमिकता दिन उल्लेख गर्दै ८० लाख ६० हजार विनियोजन गरिएको छ ।
मन्त्रालयले अतिआवश्यकबाहेकका सेमिनार, तालिम, गोष्ठी नगर्ने भएको छ । कार्यक्रम गर्दा मन्त्रालयका सभाकक्ष वा अन्य सरकारी निकायका भवनहरू प्रयोग गर्नेसमेत मापदण्डमा उल्लेख छ । स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गर्दै नगर्दा पनि हुने कार्यक्रमलाई स्थगन गर्ने उल्लेख छ । यस्ता कार्यक्रमका लागि दुई करोड १३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बैठक तथा अतिथि सत्कारका लागि छुट्याइएबाहेकका खाना, खाजा सरकारी खर्चबाट भुक्तानी नगर्ने उल्लेख छ । बजेट निर्माणका समयमा अतिरिक्त समयमा काम गरेबापत दैनिक ६ सय रुपैयाँ दिने गरिएको अब तीन सय दिनुपर्ने मापदण्डमा उल्लेख छ । हाल यस्ता किसिमका खर्चका लागि एक करोड १५ लाख १० हजार रुपैयाँ छुट्याइएको छ ।
अतिआवश्यकविना एसी, हिटर र पंखासमेत प्रयोग गर्न नपाइने भएको छ । हाल यसमा ६५ लाख ५२ हजार रुपैयाँ विनियोजित छ । बोतलको पानीमा समेत अर्थले कडाइ गर्दै जारको पानीलाई प्रोत्साहन गर्ने उल्लेख छ । यस्तोमा अर्थले तीन लाख ६० हजार रुपैयाँ छुट्याएको छ । अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहित गर्ने उल्लेख छ ।