बागमतीमा सरकार विस्तार प्रतिनिधिसभाको सभामुख निर्वाचनपछि मात्रै
हेटौंडा । प्रतिनिधिसभाको सभामुख चयनपछि मात्रै बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ । ५ माघमा प्रतिनिधिसभाले सभामुख पाएपछि मात्रै बागमतीमा सरकार विस्तार हुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलनिकट स्रोतले शिलापत्रलाई जानकारी दिएको छ ।
मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका थिए । उनले मंगलबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सातवटा दलमध्ये नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ सांसदबाहेक अन्य ६ वटै दलका १ सय ५ जनाले जम्मकट्टेललाई विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी अगाडि बढेको हो । यद्यपि, जम्मकट्टेललाई मन्त्रिपरिषद् विस्तारमा चुनौती छ । साविकको १४ वटा मन्त्रालय घटाएर ११ वटामा पुर्याउने उनको योजनाले नै मन्त्रिपरिषद् विस्तारमा चुनौती देखिने भएको हो ।
उनीनिकट स्रोतका अनुसार जम्मकट्टेलले ११ वटा मन्त्रालय बनाउने गरी गृहकार्य गरिरहेका छन् । तर, कुन मन्त्रालय कहाँ गाभ्ने भन्ने टुंगो लागिसकेको छैन । बागमतीमा सरकारलाई समर्थन गरेका पाँचवटा दलले १४ वटा मन्त्रालयमा दाबी गरेका छन् ।
सत्ता गठबन्धनको ठूलो दल एमालेले ५ वटा, नेकपा माओवादी केन्द्रले ४ वटा, एकीकृत समाजवादीले २ वटा, राप्रपाले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालयमा दाबी गरेका छन् । यसअघि माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका जम्मकट्टेलले मुख्यमन्त्रीमा शपथ लिएसँगै एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र राप्रपाका उद्धव थापालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।
त्यसयता उनले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । ‘मुख्यमन्त्रीज्यूले आजमात्रै विश्वासको मत लिनु भएको छ । मन्त्रिपरिषद् विस्तार हुन केही दिन लाग्छ । प्रतिनिधिसभाको सभामुख निर्वाचनपछि मात्रै थप मन्त्रीहरू नियुक्त हुन्छन्,’ उनीनिकट स्रोतले शिलापत्रसँग भन्यो ।
जम्मकट्टेललाई मन्त्रालय संख्या निर्धारण गर्नुअगाबै मन्त्रिपरिषद् विस्तार गर्न थप अप्ठ्यारो परेको छ । उनले मुख्यमन्त्रीमा पदभार ग्रहण गरेकै दिन २६ पुसमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका थिए ।
१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेस गर्ने र त्यसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्याउने मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिएका थिए । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले काम गरिरहेको छ । कार्यदलको प्रतिवेदनपछि मात्रै जम्मकट्टेललाई मन्त्रिपरिषद् विस्तार गर्न सहज हुने देखिएको छ । शिलापत्रबाट ।






