महिला फुटबल खेलाडीलाई नगदसहित खेलकुद मन्त्रालयको सम्मान

साफ उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएको छ । युवा तथा खेलकुद मन्त्रालयले पाँचौं महिला साफ च्याम्पीयनसिप सकिएको पाँच महिनापछि महिला टोलीलाई जनही ३२ हजार पाँच सय रुपैयाँसहित सम्मान गरेको होे ।
खेलकुद मन्त्रालयको सम्मानसँगै महिला टोली ३ पटक सम्मानित भएको छ । मंगलबार प्रदेश १ सरकारको तर्फबाट सम्मान पाएको महिला टोलीलाई आज युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो । सोमबारमात्र विराटनगर महानगरपालिकाले खेलाडीलाई सम्मान गरेको थियो ।
विराटनगरस्थित सहिद रंगशालामा गत चैतमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा सुनारले खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् ।
उपविजेता लगत्तै राष्ट्रिय खेलकुद परिषदले मन्त्रालयलाई १ लाखसहित सम्मान गर्न सिफारिस गरेपनि मन्त्रालयले ३२ हजार रुपैयाँमात्र दिएको छ । घरेलु मैदानमा कीर्तिमान बनाउने लक्ष्य रहेपनि फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । उपविजेता टोलीलाई विराटनगर महानगरपालिकाले ५० हजार र प्रदेश १ सरकारले १ लाख रुपैयाँबाट सम्मान गर्ने घोषणा गरेको थियो ।
घोषणा गरेको पाँच महिनापछि खेलाडीले रकम पाएका हुन् । सम्मान थाप्न जान पनि खेलाडीले सास्ती खेप्नुपर्यो । ५ गते बेलुका आइतबार रात्रिबस चढेर विराटनगर पुगेका खेलाडीलाई सोमबार महानगरले सम्मान गरेको थियो ।
आफ्नै खर्चमा गाडी चढेर सम्मान थाप्न पुगेका खेलाडी प्रदेश सरकारले सम्मान गरेलगत्तै बेलुका हवाइमार्ग हुँदै काठमाडौं आइपुगेका हुन् । खेलाडीले हवाइमार्गको खर्च पनि आफै व्यहोरेका थिए । तीन स्थानमा एकैचोटी सम्मानको कार्यक्रम हुँदा सास्ती खेप्नुपरेको खेलाडीले बताएका छन ।
“सम्मान त प्राप्त भयो तर आउने–जाने कुरामा तालमेल मिलेन । फरक–फरक समयमा गरेको भए हामीलाई सहज हुने थियो,” एक राष्ट्रिय खेलाडीले भनिन् ।