यसअघिका विमान दुर्घटनाको छानबिन कार्यान्वयनमा बागमतीका मुख्यमन्त्रीको चासो
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलायन्सको विमान पोखरा महानगरपालिका–१५, नयाँगाउँस्थित सेती नदीको खोंचमा दुर्घटना हुँदा हालसम्म ६९ जनाको निधन भएको खबरले दुःखित बनाएको जम्मकट्टेलले बताएका छन् ।
उनले शोक वक्तव्य जारी गर्दौ यसअघिका विमान दुर्घटनाको छानबिन गर्न बनेका आयोगहरूको प्रतिवेदन कार्यान्वयनमाथि चासो लिएका छन् । उनको भनाइले यसअघिका विमान दुर्घटनाको छानबिनबाट प्राप्त सुझाव कार्यान्वयनमा नआएको देखाउँछ ।
‘यस किसिमको बढ्दो हवाई दुर्घटनाले विगतमा दुर्घटना हुँदा गठन भएका छानबिन आयोगहरूका प्रतिवेदनले हवाई यात्रालाई सुरक्षित तथा भरपर्दो बनाउनका लागि दिएका सुझावहरू के–कति कार्यान्वयन गरिए समिक्षा गर्नुपर्ने महसुस गराएको छ,’ उनले भनेका छन् ।
नेपाल सरकारले गहन रूपमा अध्ययन गरी नेपालको हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीतिगत सुधार तथा योजनाहरू अघि बढाउनेछ भन्ने विश्वाससमेत लिएको मुख्यमन्त्री जम्मकट्टेलले बताए ।
यस किसिमका बढ्दो हवाई दुर्घटना न्यूनीकरण गर्नका लागि नागरिक उड्डयन प्राधिकरण, हवाई सेवा प्रदायक कम्पनी, नियामक निकायहरू, स्थानीय प्रशासन, सुरक्षा निकायहरुलाई संवेदनशील र जिम्मेवार भई लाग्न प्रदेश सरकारले अनुरोध गरेको छ ।
‘नेपाली आकाशमा आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो मानवीय क्षतिसहितको विमान दुर्घटना दुःखद खबरले देश नै शोकमग्न अवस्थामा पुगेको र बागमती सरकारले शोकाकुल परिवार र आफन्तहरूमा समवेदना व्यक्त गर्दछु,’ जम्मकट्टेलले भनेका छन् । शिलापत्रबाट ।






