आज शाेक बिदा, त्रिविका परीक्षा नराेकिने

जनपत्र
२ माघ २०७९, सोमबार ०७:३१

कास्कीको पोखरामा हिजो भएको विमान दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै शोकको घडीमा आज राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

हिजो बिहान काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले शोक बिदा दिए पनि त्रिविले परीक्षा नरोकिने जनाएको छ ।

त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा नरोकिने बताइन् । उनले सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिए पनि मानविकि सङ्कायद्धारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*