धार्मिक क्षेत्र रिडीमा भोलिदेखि हुने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा
गुल्मी – गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रिडीमा भोलिदेखि हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । मेलाको सबै तयारी पूरा भएको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिनुभयाे । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रको काली गण्डकी नदीमा माघे संक्रान्तिको दिन स्नान गर्न आउने श्रद्धालुहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।
विगत तीन वर्षदेखि कोभिडका कारण सुनसान जस्तै बनेको रिडीमा यस पटक माघे सङ्क्रान्ति मेलासँगै चहलपहल समेत बढेको छ । माघे संक्रान्तिको अवसरमा रिडीमा रहेकाे काली गण्डकी नदीमा स्नान र पूजाआजाका लागि टाढाटाढाबाट श्रद्धालुहरु यहाँ आइपुगेका छन् । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा रहेकाे काली गण्डकी नदीमा स्नान गर्न र ऋषिकेष भगवानको दर्शन गर्नका लागि छिमेकी जिल्लाहरु भारतबाट समेत श्रद्धालुहरु रिडी क्षेत्रधाममा आउने गर्दछन् ।
माघे संक्रान्तिको दिनमा श्रद्धालुहरु काली गण्डकी नदीमा स्नान गरि नजिकै रहेको ऋषिकेष मन्दिरमा गई पूजा-आराधना गरेपछि आफूले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहि आएको छ । विशेषगरि माघे संक्रान्तिको दिनमा काली गण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषि ऋण समेत तिरिने धार्मिक विश्वास रहेको छ ।
रुरुक्षेत्र गाउँपालिकाको संरक्षकत्वमा स्थानीय रुरु फ्रेण्ड्स क्लबको आयोजनामा रिडीमा पाँच दिनसम्म मेला लाग्ने गर्दछ । रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा कृषि मेला प्रर्दशनी समेत गरिने भएको छ । प्रर्दशनीमा घरेलु उत्पादित सामग्री लगायत कृषि उपज वस्तुहरु राखिने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयाे ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक साथै पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै प्रख्यात छ । यस्तै याे मेला व्यापारकाे दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी– पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तिको अवशरमा रिडीमा व्यापार गर्नका लागि वाग्लुङ्ग, रुकुम, रोल्पा लगायतका ठाउँवाट पैदल यात्रा गरि मानिसहरु आजै रिडी आइपुगेका छन् ।