बागमती प्रदेशसभाका उसभामुखमा ३ जनाको उम्मेदवारी
हेटौंडा : बागमती प्रदेशसभाका उसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ। शुक्रबार प्रदेशसभा सचिवालयमा पुगेर ३ जनाले उम्मेदवारी दिएका हुन्। निर्वाचन भने माघ २ गते मात्रै हुनेछ। प्रदेशसभाका उपसभामुखमा सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक बसेका छन्। कांग्रेसकी परियारले प्रस्तावक उत्तम जोशी र याङ्किला शेर्पाको समर्थनमा उम्मेदवारी दिएकी हुन्। यस्तै नेमकिपाकी काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाईंको समर्थकमा उम्मेदवारी दर्ता गरेको हो।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते सदनबाट विश्वासको मत लिँदै छन्। त्यसअघि सबै प्रक्रिया टुंगिनेछ।
शुक्रबार भएको निर्वाचनबाट प्रदेशसभाका सभामुखमा ६२ मत ल्याएर राप्रपाका महामन्त्री भुवन पाठक निर्वाचित भएका थिए। नवनियुक्त सभामुख पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई माघ २ गते उसभामुख चयनका लागि निर्वाचनको तयारी अघि बढाउन निर्देशन दिएका छन्।
उनले प्रदेशसभाको बैठकबाटै सोमबार ३ बजेका लागि बैठकसमेत आह्वान गरेका छन्। सत्तारुढ गठबन्धनको भागबण्डाअनुसार उपसभामुख नेकपा एमालेको भागमा परेको थियो। थाहा खवरबाट ।