चितवन । वीरगञ्जका मनोज रौनियारले भारतबाट टायल ल्याएर वार्षिक ३०/४० करोड रुपैयाँसम्मको टायल नेपालमा बेच्ने गर्दथे । २०५० सालदेखि नै जय नेपाल सेनेटरी कम्पनीमार्फत उनले सुरु गरेको टायलको ‘मार्जिन’ व्यापार पछिल्लो समयमा निकै फस्टाएको पनि थियो, कारण नेपालमा टायलको प्रयोग अत्याधिक हुँदै गयो । भारतीय टायलको बजारलाई देशभर फैलाउनमा उनको भूमिका छ ।
तर, मनोजलाई मनमा सधैं एउटा कुरा आइरहन्थ्यो । वार्षिक करोडौं मूल्य, टायलका लागि नेपालबाट बाहिर गइरहेको छ यसलाई नेपालमा नै उत्पादन गरेर रोक्न सकिंदैन होला ? नेपालकै माटो प्रयोग गरेर टायल उत्पादन गरेर बेच्न सके सयौं जनालाई रोजगारी दिन सकिन्थ्यो । उनी उपर्युक्त मौकाको खोजिमा थिए । यस्तैमा भरतपुरका हार्डवेयर व्यावसायी शिरिष पन्तले मनोजलाई अर्को हार्डवेयर व्यवसायी शम्भुनाथ झासँग भेटघाट गराइदिए । महोत्तरी घर भएका शम्भुनाथ झाले भारत र चीनबाट हार्डवेयरका सामान आयात गरेर बिक्री गर्न काठमाडौंमा मयुर फोसेस्ट प्रालि खोलेका थिए ।
उनीहरूका बीचमा नेपालमा नै पहिलो टायल उद्योग खोल्ने कुरा सल्लाह भयो । लगानीका लागि आर्थिक जुटाउन समस्या थियो । माछापुच्छे बैंक लिमिटेड उनीहरुको साथी भैदियो । दुवै जना मिलेर बाराको सिमरा उपमहानगरपालिका–८ मा जन्मियो, नेपोभिट टायल, ‘आफ्नै माटो, आफ्नै सान ।’
गत वैशाखदेखि उत्पादन सुरु भएको उद्योगले ५० प्रतिशत नेपाली माटो प्रयोग गरेर टायल उत्पादनको गर्दै आएको छ । बाँकी ५० प्रतिशत माटो भने भारतको राजस्थानबाट ल्याउने गरिएको छ । अबको ६ महिनामा शतप्रतिशत नेपाली माटो नै प्रयोग गरेर टायल उत्पादन गर्ने तयारी गरिएको सञ्चालक मनोज रौनियारले बताए । टायल बनाउन आवश्यक माटो भारतको भन्दा नेपालको उपर्युक्त पाइएको तथा गुणस्तरसमेत राम्रो र बलियो हुने पुष्टि भइसकेको रौनियारको भनाइ छ । भारतबाट ल्याउँदा ८ रुपैयाँ प्रतिकेजीमा आउने माटो नेपालमा ३ देखि ४ रुपैयाँसम्म आउने गर्दछ । एक हजार दुई सय डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो । यसले नेपाली माटो टायलका लागि बढी उत्तम देखिएको रौनियारले दावी गरे । भारतीय माटोबाट बनाइएको टायलले तीन सय ५० केजी भार थेगेको भन्दै उनले नेपाली माटोबाट बनेको टायलले चार सय ३० केजी भार थेगेकोले आफूहरु नेपाली माटो प्रति बढी विश्वस्त रहेको उनको भनाइ छ । तर, माटो ल्याउन भने सरकारले सहजीकरण गरिदिनुपर्ने सञ्चालकहरु बताउँछन् ।