तयारी नपुग्दा योजना बैंकबाट योजना छान्न सकिएन – मन्त्री ढुंगेल

जनपत्र
७ श्रावण २०७६, मंगलवार २०:५३

रामेछाप — प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले तयारी नपुगेकोले चालु आर्थिक वर्षका योजनाहरु योजना बैंकबाट छनोट गर्न नसकेको बताएका छन् ।
‘यो वर्ष नै योजना बैंकबाट योजना छनोट गर्ने योजनामा हामी काविल भएनौं ’ मन्त्री ढुंगेलले भने, अर्को वर्षदेखि योजना बैंकलाई प्रभावकारी कार्यान्वयनमा ल्याउँछौं । बाहिरबाट योजना हालेको भन्दै प्रदेश योजना आयोगका उपाध्यक्षले राजीनामा दिएको प्रसंगमा उनले भने, अलि अभ्यास नपुगेर यो अवस्था आयो ।

थुप्रै असजिलोको बाबजुत प्रदेश सरकारले ५९ प्रतिशत बजेट खर्च गर्न सकेको ढुंगेलले बताए । ‘कामहरु भएका छन् तर केही तत्व नकारात्मक प्रचारमा छन्’ ढुंगेलले भने, नागरिक समाजले योजनाहरुको कार्यान्वयन पक्ष सुक्ष्म तरिकाले अवलोकन गरेमा त्यस्ता प्रचारले केही अर्थ हुँदैन ।

रामेछापको मन्थलीमा मंगलबार पत्रकार भेटघाटमा मन्त्री ढुंगेलले विगत वर्षमा साना र टुक्रे योजनामा प्रदेश सरकारको लगानी छरिएको स्वीकारे ।

प्रदेश ३ सरकारको प्रवक्ता समेत रहेका मन्त्री ढुंगेलले प्रदेशको नामाकरण र राजधानीको विषय अब बस्ने संसद् बैठकबाट टुंगो लगाउने दाबी गरे । राजधानी रहने स्थान र नामका विषयमा उनले केही खुलाएनन् ।
उनले प्रदेशको नाम र राजधानी बस्ने स्थानका बारेमा करिव करिव टुङ्गो लागि सकेको भए पनि आधिकारिक निर्णय हुन बाँकि रहेकाले आफूले अहिलै बोल्दा हतार हुने बताए ।

प्रदेश राजधानिका लागि काभ्रे, नुवाकोट , हेटौडा लगाएतका जिल्लाहरु प्रस्ताव भए पनि संवैधानिक विधि र प्रक्रिया अनुसार टुङगो लगाउन उनले बताए । मन्त्री ढुंगेलले मुलुकका ७ वटा प्रदेश मध्य प्रदेश नं ३ सवैभन्दा बढि योजना र कार्यक्रम ल्याई बजेट खर्च गर्ने प्रदेश भएको दावि गरे । उनले आर्थिक बर्ष २०७५/ ०७६ मा ६८ प्रतिशत भन्दा बढि बजेट योजना र कार्यक्रम अनुसार खर्च गर्न प्रदेश तीन सफल भएको बताए ।

मन्त्री ढुंगेलले प्रदेश तीन सरकारले योजना बैंक बनाएर विकासका काम गर्ने योजना बनाएको भएपनि विभिन्न कारणले पुरा हुन नसक्दा केहि समस्या भने आएको बताए । तर पनि प्रदेश सरकार अझै पनि योजना बैंक मार्फतनै प्रदेशको विकास गर्ने योजनाका साथ अघि बढेकाले समय लगाएर भएपनि प्रदेश सरकारले योजना बैंक मार्फतनै काम गर्ने मन्त्री ढुंगेलले बताए । प्रदेश सरकारले ठूला योजनाहरु सञ्चालन गर्ने र साना योजना स्थानीय सरकार मार्फत नै सञ्चालन हुनु पर्ने उनले बताए ।

कृषि देश विकासको मुल आधार भएकोले अहिले प्रदेश सरकारका धेरै योजनाहरु कृषि र पशुपालनमा केन्द्रित रहेको पनि उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*