हत्या अभियोगमा संलग्नहरु पक्राउ
रुपन्देही मायादेबी गाउँपालिका –७ बस्ने भीमबहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही हाटी बनगाई गाविस–१ भौजा भहुआरे घर भएका ३९ वर्षीय जितई भर भन्ने जितेन्द्र राज भरलाई प्रहरीले पक्राउ गरेको छ ।
२०६१ वैशाख २८ गते राति यादवलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका–२६ बुढीबजारबाट पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही साविक मझगावा गाविस–४ बस्ने ईस्लाम धोबीको छोरा १२ वर्षीय मक्सुद आलम धोबीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रूपन्देही कोटहीमाई गाउँपालिका–३ मझगवा बस्ने ५० वर्षीय नबिमोहमद चुरिहारलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही साविक बोगटी गाविस–८ भगैयास्थित खेतको पानी पोखरीमा २०७३ असार १५ गते मक्सुदको डुबेर मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न चुरिहारलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कोटहीमाई गाउँपालिका–३ मझगवाबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीको भनाइ छ ।






