शेयर बजार बढ्नु सरकारप्रति नागरिकको भरोसा हो : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारको वृद्धिलाई सरकारको सफलता र भरोसासँग जोडेर हेरेको बताउनुभएको छ । संसदमा विश्वासको मत माग्दै उहाँले शेयर बजार बढ्नुलाई नयाँ सरकारप्रतिको भरोसका रूपमा लिएको बताउनुभएको छ ।
‘पछिल्ला दिनमा शेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति नागरिककाे भरोसको सङ्केतका रूपमा हेरेको छु’, प्रचण्डले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पहुँच नभइ विधिको शासन सुरु गर्ने र ६० खर्ब रुपैयाँ बराबरको विकास खर्च जुटाउँदै राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका केही बाँकी काम पूरा गर्न लागिपर्ने बताउनुभयो ।
आउँदाे छ महिनाभित्र नागरिकता प्रदान गर्ने तथा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, आर्थिक समृद्धिका लागि नीतिगत सुधार, न्यायपालिकाको सुधार र भ्रष्टाचारको अन्त्य गर्दै नागरिक प्रशासन सेवा प्रवाहमा सुधार ल्याउन एक दर्जन नयाँ ऐनको तर्जुमा र विद्यमान ऐनको सुधार गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।