गृहमन्त्रीले केटाकेटी पन देखाए : रमेशजंग रायमाझी
काठमाण्डौ – नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले गृहमन्त्रीले केटाकेटीपन देखाएको टिप्पणी गर्नुभएको छ ।
उहाँले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गर्नुभएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै यस्तो टिप्पणी गर्नुभएको हो ।
सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानूनको पालना नहुने उहाँले बताउनुभएको हो ।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्ति पछिको उत्साह अंहकार भएको उहाँकाे टिप्पणी थियाे ।
उहाँले कानुनको भुमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वार्थ बाझिने गरी देशको प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने बताउनु भयो ।
संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भीर नबन्दा धेरै शान्ति सम्झौतामा भएका कामहरु गर्न बाँकी रहेको पनि उहाँले बताउनु भयो ।