हेटौंडामा साँसद–न्यायाधीशदेखी कर्मचारीसम्म सम्मानित

जनपत्र
२३ पुष २०७९, शनिबार १९:०७

हेटौंडा । नेवाः गुठी खलः मकवानपुरले दोश्रो वार्षिक साधारणसभामा नेवार समुदायबाट नवनिर्वाचित जनप्रतिनिधि, अधिवक्ता, कर्मचारी, प्राध्यापक, समाजसेवीलाई बधाई र सम्मान गरेको छ । नेवार समुदायबाट निर्वाचित प्रदेश सांसदहरु, न्यायाधीशहरु, प्रदेश न्यायाधिवक्ता, गाउँपालिका उपाध्यक्षहरु, वडा अध्यक्षहरु, सदस्य, हेटौंडा कार्यपालिका सदस्य, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य, सरकारी कर्मचारीहरु, प्राध्यापक, समाजसेवीसहित ३० जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा ईजालसकी न्यायाधीश मेरिना श्रेष्ठको प्रमुख अतिथ्य तथा उच्च अदालत पाटन हेटौंडा ईजालसकी न्यायाधीश निर्मला शाक्य र बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद एकालाल श्रेष्ठले नेवार समुदायलाई अगाडी बढाउँदै समाजकै विकासका लागि नेवार समुदायका अगुवाहरु पनि हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्दै नेतृत्वमा जान हिच्किचाउन नहुनेमा जोड दिनुभयो । बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले राज्यको विभेदकारी नीतिका कारण नेवारी भाषा, संस्कृति लोप हुँदै गएको बताउँदै सरकारसँगै नेवार समुदाय गम्भीर हुनुपर्ने बताउँनुभयो ।

नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गेको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, नेवाः देय् दबु बागमती प्रदेश अध्यक्ष एवं हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल चेम्बर अफ कमर्स बागमती प्रदेश अध्यक्ष सिद्धीलाल श्रेष्ठ, नेवाः देय् दबु मकवानपुरका संस्थापक अध्यक्ष देवप्रसाद श्रेष्ठ, नेवाः गुठी खलःका जिल्ला उपाध्यक्ष यज्ञबहादुर श्रेष्ठ लगायतले विशिष्टता रहेको नेवार समुदायको भाषा, संस्कृति, रहनसहन संरक्षण, विकास र प्रवद्र्धनमा ढिलाई गर्न नहुने बताएका थिए ।

नेवाः गुठी खलः मकवानपुरका महासचिव देवकुमार श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा बागमती प्रदेशका खानेपानी तथा उर्जा मन्त्रालयका सचिव मोहनकुमार शाक्य, भीमफेदी गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य साधना श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*