ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले पर्सिदेखि एकीकृत कारोबार सुरु गर्ने, दुई दिन बैंकिङ्ग कारोबार बन्द रहने

जनपत्र
२३ पुष २०७९, शनिबार ०९:२९

काठमाण्डाै –  ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच मर्जरप्रश्चात पर्सिदेखि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।  यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो । यसका लागि नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ ।

बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आज शनिवार र भाेलि आइतवार २ दिन ग्लोबल आईएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहने भएकाे छ । तर यस अवधिमा बैंकको माेबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटीएम तथा एजेण्टमार्फत् हुने रेमिटयान्स् सेवा भने यथावत् सञ्चालनमा रहने बैंकले जनाएकाे छ ।

मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५ दशमलव ७७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशमा रहेकाे सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आईएमई बैंक लिमिटेड देशको सबैभन्दा ठूलो बैंक हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*