अत्यधिक चिसाेले गराउन सक्छ हृदयाघात, भारतमा एकैदिन २५ जनाकाे मृत्यु
शीतलहरका कारण भारत उत्तर प्रदेशमा एकै दिन हृदयाघात भएर २५ जनाको मृत्यु भएको छ । २५ मध्ये १७ जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको टाइम्स नाउ न्युजको समाचारमा उल्लेख छ । घट्ना गत बिहीबारको हो ।
डाक्टरहरूका अनुसार, चिसोमा अचानक ब्लड प्रेसर बढ्नु, रगत जमेर हृदयघात र मस्तिष्कघात भएर उनीहरू मृत्यु भएको हो । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा हुन् । बिहीबार हृदय रोग संस्थानको इमरजेन्सीमा मुटुका ७ सय २३ जना बिरामी आएका थिए ।
कानपुरमा बढेको व्यापक शीतलहरले हृदय रोगबाट पीडित मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताए ।
कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन् । उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ ।