पाल्पा बस दुर्घटनाका मृतक ६ जनाकै सनाखत
पाल्पामा गएराति बस भएको बस दुर्घटनाका मृतक छ जनाकै सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ जाँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना भएको थियो ।
बस अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।






