नेपाली सेनाले थाल्यो गोरखाबाट काठमाण्डौसम्मको पदयात्रा

जनपत्र
२१ पुष २०७९, बिहीबार १४:०८

गोरखा – पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा सुरु गरेको छ। ऐतिहासिक महत्त्वको एकीकरण अभियानलाई हर्सोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको सेनाले जनाएको छ ।

नेपाली सेनाले गएकाे वर्ष पनि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गरेको थियो । आज बिहीवार गोरखा दरबारबाट सुरु हुने यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन काठमाण्डौ पुग्ने गोरखाकाे रिपुमर्दन ‍गणपति हेमराज विष्टले बताउनुभयो । पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोसाकमा रिपुमर्दन गण र सार्दुलजंग गुल्मको  फौज सहभागी भएको छ । यस क्रममा टर्चसहितको नेपालको झण्डासहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको गणपति विष्टले जानकारी दिनुभयो ।

पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ ।

काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*