पोखरामा इन्टनरनेट सेवा बन्द हुने सम्भावना, प्राधिकरणले ‘अपरेशन सेन्टर’ कै बिजुली काटेको सेवा प्रदायकको आरोप
काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूले पोखरामा इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य ‘अपरेशन सेन्टर’ मा नेपाल विद्युत् प्राधिकरणले छानेरै बिजुली विच्छेद गरेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ ।
सेवा प्रदायकहरूले विद्युत् महसुल नियमितरूपमा भुक्तानी गर्दा गर्दै पनि प्राधिकरणले बिजुली काटेकाले इन्टरनेट सेवा बन्द हुने सम्भावना प्रबल रहेको आईस्पानले जनाएको छ । सेवा प्रदायकहरूले हरसम्भव प्रयास गर्दा पनि अपरेशन सेन्टर सुरु गर्न नसक्ने अवस्था आएकाले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा बन्द हुन सक्ने र यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिएर क्षतिपूर्तिसमेत दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, मानव अधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष सत्य/तथ्य प्रस्तुत गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अपिल गर्दा पनि स्थितिमा कुनै सुधार नआएको आईस्पानले जनाएको छ । विद्युत् प्राधिकरणले एकतर्फीरूपमा बढाएको सात सय प्रतिशतसम्मको पोल भाडा दिन नमानेकै कारण छानी–छानी इन्टरनेट सेवा प्रदायकको तार काट्ने काम भएको आईस्पानको आरोप छ ।