लुक्ला विमानस्थलमा बढ्यो फर्किने यात्रुको चाप, विमान कम्पनीलाई भ्याइ नभ्याइ
सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप अत्याधिक बढेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो केही दिन उडान ठप्प हुँदा अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
अहिले तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट दैनिक ७ वटा भन्दा बढी उडान भईरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् भने फर्किदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् ।
चिसो छल्न खुम्बु छोड्ने स्थानीयको संख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो । जसका कारण एअरलाईन्सहरुको टिकट काउन्टरहरुमा पनि यात्रुको चाप अधिक रहेको बताइएको छ । मौसमका कारण पुस १४ गतेबाट उडान ठप्प बनेको लुक्लामा मौसममा सुधार भएसँगै सोमबारबाट नियमित उडान भईरहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ ।