भारतका यी १३२ गाउँमा तीन महिनादेखि एकैजना छोरी जन्मेका छैनन्

भारतको केन्द्रीय सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान जोडतोडले चलाइरहँदा उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाका १३२ गाउँमा भने तीन महिनादेखि छोरीको जन्म भएको छैन। उत्तरकाशीको जिल्ला रिपोर्टअनुसार १३२ गाउँमा जन्मिएका सबै शिशु छोरा छन्।
उत्तरकाशीका जिल्ला प्रशासक डा. आशिष चौहानले हिन्दुस्तान टाइम्ससँग भनेका छन्, ‘हामीसँग पहिचान गरेको ती क्षेत्रमा/गाउँमा छोरी मान्छे जन्मेको रेकर्ड शून्य नै छ। त्यही पनि हामी त्यसको सत्य-तथ्यबारे अनुगमन गरिरहेका छौँ।’ यसको पछाडिको कारण के रहेछ भनेर पत्ता लगाएर छाड्ने उनले जिकिर गरेका छन्।
उनले यसको लागि आकस्मिक रुपमा छलफल र सोधपुछ गरेर तथ्याङ्क संकलन गरेका छन्। उनीसँगै गंगोत्रीका एमएलए गोपाल रावत पनि यसमा सहभागी थिए।
एएनआईसँग कुरा गर्दै सामाजिक अभियन्ता कल्पना ठाकुरले उक्त गाउँमा महिलाहरुलाई छोरी भएको थाहा पाउने वित्तिकै जबरजस्ती गर्भपतन गर्न लगाएको बताएकी छिन्। उनले भनिन्, ‘यो गाउँमा छोरी नजन्मिनुमा कुनै संयोग नभई महिलाप्रति हेर्ने दृष्टिकोण र छोरीप्रतिको नकारात्मक सोचको कारण यस्तो भइरहेको छ। यसबारेमा सरकारले कुनै पनि चासो दिएको छैन।’
यस्तै वरिष्ठ पत्रकार शिव सिंह थनभलले सरकारसँग यस्तो प्रकारको अभ्यासबिरुद्ध चाँडै अभियानमा उत्रिन आग्रह गरेका छन्। उनले भने, ‘छोरी नजन्मिनु यो गाउँको लागि अचम्मको कुरा भयो अब त। यसले पुरै गाउँ मात्रै नभएर केन्द्रीय सरकारको बेटी बचाऊ, बेटी पढाओ’ कार्यक्रमलाई चुनौती दिएको छ।’ प्रशासनले यसबारेमा तत्काल कडा कदम चाल्नुका साथै समाजमा छोरीप्रतिको सरकारात्मक सोचमा जनचेतना ल्याउनु पर्नेमा उनले जोड दिए।
एजेन्सीको सहयोगमा