एकीकृत समाजवादीले सरकारमा जाने/नजानेबारे अझै निर्णय लिन सकेन

जनपत्र
१९ पुष २०७९, मंगलवार १८:२६

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

आज मङ्गलवार सम्पन्न पार्टी पोलिटब्युराे बैठकले याे निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार, विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रीय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । बैठकमा धेरैजसो नेताहरूले सरकारले देश र नागरिककाे हितमा ल्याउने कार्यक्रमलाई हेरेरमात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

त्यसैगरी बैठकले वामपन्थी पार्टीहरूबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रीय सचिवालयलाई नै प्रदान गरेको छ । केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताउनुभयो ।

पार्टीभित्र सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने अभियानलाई अघि बढाउने निर्णय पनि पोलिटब्युराे बैठकले गरेको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*