दार्चुलामा गएरातिदेखि विद्युत् सेवा अवरुद्व

जनपत्र
१९ पुष २०७९, मंगलवार १३:५६

दार्चुला – दार्चुला जिल्लामा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलासहित अन्य सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीका अनुसार ३३ केभी प्रसारण लाइन अन्तर्गत घण्टेश्वरमा तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको उहाँले बताउनु भयो । गएराति सवा ११ बजेदेखि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ ।

अवरुद्ध विद्युत् सेवा बेलुकासम्म आउने प्रारम्भिक जानकारी आएको वितरण केन्द्र दार्चुलाले जनाएको छ । अहिलेसम्म दार्चुला जिल्लाका ४६ प्रतिशत घरधुरी अझै पनि सोलार र टुकीकै भरमा छन् । विद्युतीकरण भइसकेको ठाउँमा समेत बेलाबेला विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ ।

दार्चुलाको करिब ५४ प्रतिशत घरधुरीमा बिजुली बलेको छ । अहिलेसम्म दार्चुलाको ५३ दशमलव ७० प्रतिशत घरधुरीमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । जिल्लाका करिब चार प्रतिशत घरधुरी ग्रामीण स्तरमा निर्माण भएका जलविद्युत् र वैकल्पिक ऊर्जाको पहुँचमा छन्।

स्थानीय समूह, संघसंस्थाको नेतृत्वमा वैकल्पिक ऊर्जा केन्द्रबाट निर्माण भएका लघु जलविद्युत् आयोजना बन्द हुँदा बिजुली बालेका केही ठाउँका स्थानीय राष्ट्रिय प्रसारण लाइन नहुँदा अँध्यारोमा बस्न बाध्य भएका छन् । पालिका चुनावमा विद्युतीकरणलाई प्रमुख एजेन्डा बनाएका पालिकाका जनप्रतिनिधिहरूले अहिले भने आफ्नो प्रतिबद्धता प्रायः बिर्सिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*