राहदानीमा गाउँपालिकाको अङ्ग्रेजी नाम गलत हुँदा गुल्मीको रुरुक्षेत्र बासिन्दालाई समस्या
काठमाण्ठौ – गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको अङ्ग्रेजी नाम राहदानी विभागको अनलाइन सफ्टवेयरमा गलत हुँदा विदेश पुगिसकेका र जान खोज्ने पालिका बासीलाई समस्या भएको छ ।
गाउँपालिकाको नामको अङ्ग्रेजी स्पेलिङ फरक पर्दा विदेश पुगिसकेकाहरूलाई पनि समस्या भएको र कतिपय जानै नपाएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
पालिकाबाट जापान, अस्ट्रेलिया लगायतका देशमा पुगेकाहरूलाई सर्टिफिकेट र राहदानीमा स्थायी ठेगानाको स्पेलिङ नमिल्दा समस्या भएको भन्दै गुनासो आउने गरेको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
‘विदेश पुगिसक्नु भएकाहरुलेसमेत के गर्ने होला भनेर यहाँ मलाई सम्पर्क गरिरहनुभएको छ, एक जना शर्मिला खड्का भन्ने बहिनी त विदेश जाने सबै तयारी गरेर पनि सर्टिफिकेट लगायत अन्य कागजातमा र राहदानीमा गाउँपालिकाको अङ्ग्रेजी नामको स्पेलिङ फरक परेकाले जान पाउनुभएको छैन’ गाउँपालिका अध्यक्ष ज्ञवालीले भन्नुभयो ।
विदेश पुगिसकेकाहरूले त्यहाँ रहेको नेपाली दूतावासमा गएर सच्याउन खोज्दासमेत नमिलेको र नयाँ राहदानी नै बनाउन पनि विभागको सफ्टवेयरमा त्यही स्पेलिङ अझै पनि कायम भएको उहाँले बताउनुभयो ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अङ्ग्रेजी नामको स्पेलिङ गाउँपालिकाले Rurukshetra Rural Municipality लेख्दै आएको छ । तर राहदानी विभागको प्रणालीमा Ruruchhetra Rural Municipality हुँदा समस्या भएको हो ।
राष्ट्रिय परिचयपत्र र राहदानीमा गाउँपालिकाको अङ्ग्रेजी नामको स्पेलिङ फरक परेपछि पालिकाले जिल्ला प्रशासन कार्यालयदेखि राहदानी विभागमा समेत स्पेलिङ सच्याइदिन अनुरोध गर्दै पत्राचार गरिसकेको छ ।
आफू स्वयमले पनि राहदानी विभागका महानिर्देशकदेखि परराष्ट्र सचिवसम्मलाई समेत यो समस्या राखिसकेको तर यो समाचार तयार पार्दाको मितिसम्म पनि अङ्ग्रेजी नाम नसच्चिएको अध्यक्ष ज्ञवालीले गुनासो गर्नुभयो ।
राहदानी विभागले भने रुरु क्षेत्रसँगै अन्य पालिकाबाट समेत यस्तो गुनासो आएकाले गुनासो गर्ने सबै पालिकाको नाम सच्चाइसकेको दाबी गरेको छ । विभागका प्रवक्ता दुरापदा सापकोटाले सफ्टवेयर सेवा प्रदायकसँग अनुरोध गरिसकेको र अहिलेसम्म यो समस्या समाधान भइसकेको बताउनुभयो ।
‘हामीले ई–पासपोर्टका लागि सङ्घीय मामिला मन्त्रालयबाट सबै गाउँपालिका र नगरपालिकाहरूको विवरण लिएका हौँ, तर जिल्ला प्रशासन कार्यालयले एक हिसाबले दिने गरेको रहेछ’ विभागका प्रवक्ता सापकोटाले भन्नुभयो ‘मन्त्रालयको र त्यहाँको नाम लेख्ने तरिका नमिल्दा समस्या भएको हो ।’






