गुनासो नआउने गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले नागरिकको गुनासो नआउने गरी सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । उहाँले चिसोबाट नागरिकलाई जोगाउनको लागि योजनाबद्ध ढङ्गले काम गर्न पनि निर्देशन दिनुभएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।
गृहमन्त्री लामिछानेले शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न तथा राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिनुभएको छ । गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उहाँले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो ।
उहाँले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ ।