‘माधव नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेकाे भन्ने कुरा हावा’
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले आफ्नौ पार्टीका नेता, कार्यकर्तालाई भ्रममा पार्नका लागि एमालेका मान्छेले पार्टी एकताको हल्ला चलाएको आरोप लगाउनुभएको छ ।
आज आइतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव तुलाधरले पार्टी एकताको हल्ला चलाएर एकीकृत समाजवादीका कार्यकर्तालाई भुलभुलैयामा राख्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टी एकताका सवालमा जे खालका चर्चा चलिरहेको छ, त्यो चर्चा नेकपा (एमाले) का केही मान्छेले मात्र चलाएका कुराहरू हुन् । त्यसमा कुनै पनि हिसाबले भ्रममा हामी पर्नुहुँदैन । एकता हुन्छ भनेर हाम्रो कार्यकर्ता पङ्क्तिलाई भुलभुलैयामा राख्ने खालको षड्यन्त्र भइरहेको छ, यसबाट प्रष्ट हुनुपर्छ कि अहिले एकताको कुनै प्रयास उताबाट पनि भएको छैन र यताबाट पनि भएको छैन ।’
उपमहासचिव तुलाधरले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेको भन्ने कुरालाई हावाको संज्ञा दिनुभयो । एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव यति छिट्टै नराख्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कहाँबाट कसरी आयो, यो हावामै आयो । हावामै गयोजस्तो लाग्छ । त्यति सजिलोसँग नेकपा (एमाले) को तर्फबाट फेरि माधवकुमार नेपाललाई यस्तो ठूलो प्रस्ताव यति छिट्टै सजिलोसँग राख्लान् जस्तो लाग्दैन । त्यस्तो खालको चर्चा कतै भएको भए हाम्रो पङ्क्तिलाई भ्रमित पार्नका निम्ति ग¥यो भन्ने जस्तो लाग्छ ।’
यसैबीच हिजो शनिवारदेखि चलिरहेको पार्टीको स्थायी कमिटी बैठकमा धेरैजसो सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने बताएका उपमहासचिव तुलाधरले जानकारी दिनुभयो । एकीकृत समाजवादीले सरकारलाई समर्थन नगरे पनि सरकारले निरन्तरता लिने भएकाले समर्थन गर्नु उपयुक्त हुने धेरैजसो नेताको धारणा रहेको उहाँले बताउनुभयो ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ । बैठक आज बेलुकासम्म बस्ने उपमहासचिव तुलाधरले जानकारी दिनुभयो ।






