नेपाली कागज : माग उच्च, कच्चा पदार्थ लाेक्ताकाे अभावमा उत्पादन कम
गोरखा – सङ्खुवासभाको सिलीचोङ गाउँपालिका स्थायी ठेगाना भएका ५१ वर्षका पासाङ नीमा शेर्पा नेपाली हाते कागज उत्पादनमा जोडिएको झण्डै ३ दशक भयो । सुरुमा अरुकाे उद्योगमा काम गरेर सीप सिकेपछि उहाँ कागज उद्योगको कामकै सिलसिलामा देशका विभिन्न ठाऊँमा पुग्नुभयो । उहाँ हाते कागज उद्योगमा काम गर्ने क्रममा गोरखा आइपुग्नुभयो ।
१५ वर्षसम्म यहाँका अन्य उद्योगमा काम गरेपछि उहाँले ५ वर्षदेखि गोरखा मनकामना नेपाली हाते कागज उद्योग दर्ता गरी सञ्चालन गर्दै आउनुभएको छ । नेपाली कागज उत्पादनमा ५ वर्षकाे अनुभव बटुल्नु भएका शेर्पा भन्नुहुन्छ’नेपाली हाते कागजको माग उच्च छ, तर माग अनुसारको उत्पादन दिन सकिएको छैन ।’
यसको प्रमुख कारण हो, यस्तो कागज उत्पादनका लागि चाहिने प्रमुख कच्चा पदार्थ लोक्ताको अभाव । ‘वनमा लोक्ता नभएको पनि होइन, जति चाहिए पनि छ, तर सङ्कलन गरेर उद्योगसम्म ल्याउने मान्छे पाइँदैन’ पासाङले भन्नुभयो, ‘मैले एक किलो लोक्ता डेढ सय रुपैयाँमा किन्छु, दिनभरि लोक्ता निकाल्नेले एकदिनमै पन्ध्र सयदेखि दुई हजार रुपैयाँसम्म कमाउन सक्छ, तर वनमा लोक्ता खोज्न जाने मान्छेनै भएनन् ।’
लोक्ता सङ्कलनका लागि आवश्यक राजस्व तिरेर सम्बन्धित वन कार्यालयबाट सङ्कलन पुर्जी लिनुपर्छ अनि मात्रै तोकिएको वन क्षेत्रमा गएर सङ्कलन गर्न पाइन्छ । सङ्कलन भएको लोक्ताको वन कार्यालयकै अधिकारीहरुले परिमाण यकिन गरी राजस्व तिर्न लगाउँछन् अनि ओसारपसारका लागि छुट पुर्जी दिन्छन् । लोक्ता विशेषगरी पहाडी तथा हिमाली जिल्लाका महाभारत शृङ्खला र त्यसको उत्तरी भागका पाँच हजार फिटदेखि १० हजार फिटसम्मको उचाइका चिसो, ओसिलो ठाउँ र अरु रुखको छहारी भएको ठाउँमा पाइन्छ ।