१ सय ३० जना बालबालिका पढ्ने विद्यालय दुई शिक्षिकाको भरमा, पढ्न पालो कुर्छन् विद्यार्थी
बझाङ – बझाङकाे केदार स्युँ गाउँपालिका-९ मा रहेकाे जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका अध्ययन गर्छन् । शिशुदेखि कक्षा ३ सम्म अध्यापन हुने यस विद्यालयमा न त खानेपानीकाे व्यवस्था छ, न कक्षाकाेठा नै । भवनकाे अवस्था जीर्ण छ । विद्यालयकाे छानाबाट वर्षातमा पानी र हिउँदमा शीत चुहिन्छ।
स-साना बालबालिका भुइँमा बसेर पढ्छन् । प्राय: दलित समुदायका बालबालिका अध्ययन गर्दै आएका याे विद्यालय दुई शिक्षिकाले धान्दै आएका छन् । ३ काेठा रहेकाे विद्यालयमा एउटा काेठामा कार्यालय र अर्का दुई काेठामा विद्यार्थी राखेर पढाइन्छ । विद्यार्थी पढ्नका लागि पालाे कुरेर बस्छन् ।
कक्षाकाेठाकाे अभाव भएपछि दुई वटा कक्षा एकै ठाउँमा खप्टेर पढाउने गरिएकाे छ । कक्षा २ र ३ का विद्यार्थि सँगै राखेर पढाउँदा केही नबुझिने कक्षा ३ मा अध्ययनरत छात्रा लक्ष्मी कामी बताउँछिन् । ‘पाठ्यक्रम फरक-फरक हुन्छ तर पनि दुई कक्षाका विद्यार्थी एउटै कोठामा राखिन्छ । अलग बस्न काेठा पुग्दैन । शिक्षक पनि छैनन् । कतिबेला पढ्न पाइन्छ भनेर पालाे कुरेर बस्नुपर्छ ‘ उनले सुनाइन् ।
विद्यालयमा कार्यरत शिक्षिका मञ्जु विक काेठा अभावका कारण कहिलेकाहीँ विद्यालय छिट्टै छुट्टी दिने गरेकाे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ-‘एउटै कक्षामा कक्षा २ र ३ का विद्यार्थी राखेर पढाउँदा गुणस्तरीय शिक्षाकाे कल्पनै गर्न सकिँदैन । एकतर्फ पढाउन खोज्यो अर्कोतर्फका विद्यार्थीले हल्ला गर्छन् । तैपनि, सिकाइ प्रभावकारी हुन्छ कि भनेर शैक्षिक सामग्री प्रयाेग गरेर, गृहकार्य दिएर पढाउँदै आएका छाैँ ।’