बागमती प्रदेशमा को बन्लान् मुख्यमन्त्री ? एमाले, माओबादी र राप्रपाको दावि कायमै

जनपत्र
१७ पुष २०७९, आईतवार ०८:५५

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री कुन दलले प्राप्त गर्छ भनेर हिजोआज अड्कलबाजी गर्न थालिएको छ । मुख्यमन्त्री बन्नका लागि दावि गरेका दलहरुले संसदीय दलको नेता पनि चयन गरिसकेका छन् ।

यस प्रदेशमा मुख्यमन्त्री बन्ने धेरै संभावना भने नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता बनेका जगन्नाथ थपलियाको धेरै संभावना रहेको छ । यता पछील्ला दिनहरुमा यस प्रदेशमा निर्णयक रहेको राप्रपाले पनि सार्वजनिक रुपमै मुख्यमन्त्री माग गरिसकेको छ । प्रदेश खारेजको माग गर्ने राप्रपाले मुख्यमन्त्रीको दावि गरेको सुहाएन भन्ने नेताहरु पनि छन् । नेकपा माओबादी केन्द्रका तर्फबाट संसदीय दलको नेता बनेका शालिकराम जमकट्टेलले पनि यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि केन्द्रमा बसेर लभिङ गरिरहेका छन् ।

केन्द्रको निर्णयपछी मात्र बागमती प्रदेशमा को मुख्यमन्त्री बन्नेकुरा तय हुने र त्यही अनुसार कार्यान्वयन हुने एमाले बागमती प्रदेशका संसदीय दलका नेता थपलियाले वताए । यता माओवादी केन्द्र र एमालेका सांसदहरु केन्द्रको ग्रिन सिग्नल विना सरकार गठन प्रक्रिया सुरु नहुने प्रतिक्रिया दिए । केन्द्रमा सबैकुराको सहमति बनेपछि मात्र सरकार गठनको प्रक्रिया सुर हुने उनीहरुको भनाई छ ।

‘पावर सेयरिङ्गको अधिकार प्रदेशमा छैन । प्रदेशको भागबण्डा केन्द्रमा नै हुन्छ । केन्द्रको ग्रिन सिग्नल नआएसम्म हामीले कुनै पर्छ ।’ एमालेका एक सांसदले भने, ‘सत्ता र शक्तिको भागबण्डा टुंगिए लगत्तै प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नुहुन्छ । अहिलेको समस्या भनेको दलीय गठबन्धन र पावर सेयरिङ्गको मात्र हो ।’

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरणले नयाँ मोड लिएको छ । प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० प्रदेशसभा सदस्य सिट संख्या रहेको बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ ।

बागमती प्रदेशमा कांग्रेसको ३७ जना संसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् । बागमती प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धनका मुख्य तीन वटा दलहरूले दावी गरेका छन् । प्रदेश सरकरको नेतृत्वमा एमाले माओवादी केन्द्र र राप्रपाको समेत दावी रहेको छ ।

‘संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हुँदा मेरो सम्भावना छ’, थपलियाले भने, ‘यद्यपी हामी केन्द्रको समीकरण अनुसार नै अघि बढ्नेछौं ।’ थपलिया भने । एमालेका केन्द्रीय सदस्य समेत रहेका उनी यस अघि २०७४ सालमा तत्कालीन डोरमणि पौडेल मुख्यमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए ।

यता बागमती प्रदेशको चौथो ठुलो दल राप्रपा सत्ता समिकरणका लागि निर्णायक भूमिकामा देखिएको छ । बागमती प्रदेश सरकारको नेतृत्वको ताला चाबी राप्रपाको हातमा पुगेको छ । उक्त परिस्थिति देखाएसँगै प्रदेश सरकारको नेतृत्वमा पनि राप्रपाले दावी गरेको छ । प्रदेश संरचना खारेजीको विषयलाई राप्रपाले आफ्नो चुनावी एजेन्डामा समेत समावेश गरे पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।

प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएकाले पनि सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए । ‘राप्रपा सत्ता गठनको लागि निर्णायक शक्ति हो । त्यसैले प्रदेश सरकारको नेतृत्वमा हाम्रो स्वाभाविक दाबी रहन्छ,’ उनले भने, ‘हामी केन्द्रीय सरकारमा सहभागी हुने भनेका छौं । केन्द्रमा भागबन्डा अनुसारको पदहरुमा लिएर सरकारमा जान्छौं । सोहीअनुसार प्रदेशमा पनि हुन्छौं । तर, मुख्यमन्त्री हाम्रो हुनुपर्छ ।’

थापाका अनुसार सरकारको नेतृत्व गर्ने विषयमा केन्द्रदेखि प्रदेश तहसम्म गठबन्धनमा छलफल भइरहेको छ । अन्य प्रदेशमध्ये बागमतीमा सांसदको संख्या बढी भएका कारण आफ्नो पार्टीले नेतृत्व लिने सम्भावना प्रवल रहेको उनको भनाइ छ । ‘केन्द्रीयस्तरमा हुने भागबण्डा अनुसार प्रदेशमा पनि हैसियत अनुसारको भाग हामी लिन्छौं । सात प्रदेशमध्ये एउटा प्रदेशमा हामीले नेतृत्व गर्नेछौं । हाम्रो माग र दाबी अनुसार नै पार्टीका शीर्ष नेतृत्वले यस विषय छिट्टै टुंग्याउने हाम्रो विश्वास छ,’ उनले भने ।

यता सत्ता समीकरण फेरबदल पछि सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी छ । मााअ७शधवसेवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न नसकेपनि प्रदेश सरकारको नेतृत्वमा दावी गरेको हो ।

माओवादीको बागमती प्रदेश संसदीय दलको नेता बन्न शालिकराम जम्मकट्टेल, युवराज दुलाल र सरल सहयात्री पौडेल र गंगानारायण श्रेष्ठको दौडधुपमा छन् । यिनै ४ जना मध्ये एक जना दलको नेता चुनिने र सत्ताको भाग माओवादीले पाएमा मुख्यमन्त्री बन्नेछन् ।

माओवादी केन्द्रका एक सांसदका अनुसार विगतमा बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गरिसकेको कारण यस पटक माओवादी केन्द्रले पाउनुपर्छ । ‘विगतमा हामीले सरकारको नेतृत्वमा एमालेलाई सघाएका थियौं । पछि परिस्थिति बदलियो हामीले सरकार छाड्यौ । अब फेरि सोह स्थानमा आइपुगेका छौं । यो अवस्थामा सरकारको नेतृत्व हामीले पाउनुपर्छ ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*