बागमती प्रदेशसभा सदस्यले कति पाउँछन् सेवा सुविधा ?
हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्यले यही पौष १४ गते प्रदेश सभा भवनमा जेष्ठ प्रदेश सभा सदस्य रामचन्द्र ढुङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ मा प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेकै दिनदेखि सेवा सुविधा पाउने व्यवस्था गरीएको छ।
प्रदेशसभाका सदस्यहरुले तोकिए बमोजिमको सेवा सुविधाहरु पाउने व्यावस्था गरिएको छ । त्यस भन्दा बाहेक सेवा सुविधा पाउने छैनन् । ११० सदस्यीय बागमती प्रदेशसभामा सभामुख, उपसभामुख, विपक्षी दलको नेता, मुख्य सचेतक, दलको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र समिति सभापतीहरु पदाधिकारी हुने व्यवस्था छ। प्रदेशसभामा पदाधिकारी र प्रदेशसभा सदस्यहरुको सेवा सुविधा फरकफरक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
पदाधिकारीलाई धेरै सेवा सुविधा र अरुलाई कम सुविधा रहेको छ । पद तथा गोपनियताको शपथ ग्रहणसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले एघारौं अधिवेशन आह्वान गरे पनी सरकार गठन गर्न आह्वान गरेका छैनन्। शर्माले पौष १८ गते दिनको १ बजे प्रदेश सभाको एघारौं अधिवेशन आह्वान गरेका हुन्। बागमती प्रदेशसभा सचिवालयका अनुसार पौष १८ गते एघारौं अधिवेशनको पहिलो बैठक बस्नेछ।
प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेकै दिनदेखि मासिक पारिश्रमिक रु ५२ हजार २ सय रुपैयाँ पाउनेछन्। प्रदेशसभा वा समितिको बैठकमा भाग लिए बापत प्रति दिन बैठक भत्ता रु १ हजार र यातायात खर्च वापत रु १ हजार पाउने व्यवस्था छ।
यसबाहेक प्रदेशसभा सदस्यले सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट र पत्रपत्रिका) बापत मासिक रु १ हजार ५ सय, आवास सुविधा वापत प्रति महिना रु १५ हजार, पाँच वर्षको अवधिमा एक पटक फर्निचर एकमुष्ट रु ५० हजार, स्वदेशमा प्रदेशसभाको काममा भ्रमण गर्दा दैनिक रु २ हजार, विदेश भ्रमण गर्दा प्रति दिन अमेरिकन डलर १ सय पचहत्तर र यात्रा विमा वापत प्रति यात्रा रु १० लाखको विमा हुने व्यवस्था छ।
यसका अतिरिक्त प्रदेशसभा सदस्यको सचिवालय व्यवस्थापन गर्न नायब सुब्बा सरहका एक जना स्वकीय सचिव राख्न पाउँनेछन्। निजको पारिश्रमिक मासिक रु ३४ हजार ७ सय ३० रुपैयाँ रहेको छ।
बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान
बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् ।






