प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश, ‘मिलेर काम गर्न उत्सुक’

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई सन्देश पठाउनुभएको छ । आज नेपालमा रहेको चिनियाँ दूतावासका अधिकारीले चिनियाँ प्रधानमन्त्री खछ्याङको बधाई सन्देशसहितको पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यकालको शुभकामनासहितको बधाई पत्रमा प्रचण्डको नेतृत्वमा नेपाल–चीन सम्बन्ध थप मजबुत हुने अपेक्षा लिइएको उल्लेख छ । यस्तै चिनियाँ प्रधानमन्त्रीले नेपालको स्थायित्व, विकास र समृद्धि चीन सधैं साथमा रहने उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानको अपेक्षा रहेको बताउनुभएको छ ।
प्रचण्डको नेतृत्वमा नेपालमा दिगो सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण काम हुने अपेक्षा रहेको चिनियाँ समकक्षी खछ्याङले उल्लेख गर्नुभएको छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको थियो । पत्रमा प्रचण्डलाई बधाई दिँदै नेपाल र भारतबीचको वर्षौँ पुरानो घनिष्ठ सम्बन्धलाई कायम राख्दै थप सहयोग गर्न पहल गर्नुपर्ने उल्लेख छ ।
भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो । प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि पहिलो विदेशबाट पहिलो बधाई भारतीय प्रधानमन्त्री मोदीले नै दिनुभएको थियो । प्रचण्डसँग हिजो अमेरिकी राजदूतले पनि भेटवार्ता गर्नुभएको थियो ।