हेटौंडामा सत्तापक्ष र प्रतिपक्ष दलको कार्यालय निर्माण गरिने

एक करोड ५० लाखमा दलको कार्यालय र एक करोड २० लाखमा प्रदेश सभा समितिको कार्यालय निर्माण गर्न लागिएको हो ।
हरि हुमागाईं
५ श्रावण २०७६, आईतवार ०९:२९

हेटौंडा । प्रदेश नम्बर ३ प्रदेशसभा सचिवालयले चालु आर्थिक वर्षमा सत्तापक्ष र विपक्षी दलको कार्यालय निर्माण गर्ने भएको छ । पहिलेको प्रदेश सभा भवन निकै साघुरो र समस्या बेहोर्दै आउनु परेकाले सत्ता पक्ष र प्रतिपक्ष दलको कार्यालय निर्माण गर्ने तयारी गरिएको हो । प्रदेश ३ सरकारले दुईवटा कार्यालय भवन निर्माण गर्नका लागि एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । यो भवन भने हेटौंडामा रहेको प्रदेश सभा सचिवालयको हाताभित्र निर्माण गरिने भएको हो ।

पहिलेको क्षत्रिय शिक्षा निर्देशनालयको भवनमा प्रदेश सभा सचिवालयको कार्यालय सञ्चालन हुँदै आएको छ । तर, यसमा सत्तापक्ष र प्रतिपक्षी दलको कार्यालय नभएकाले चालु आर्थिक वर्षमा निर्माण गर्न लागिएको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुबै पक्षका भवन निर्माण भएपछी बैठक राख्न पनि सजिलो हुने छ । प्रतिपक्ष दलको कार्यालय भनेर संसद सचिवालयको हाता भित्र रहेको भवनलाई प्रयोग गर्न दिइएको छ । केही कोठा प्रतिपक्ष दलको कार्यालय र केही कोठा अरु केही दलका सांसदहरुका लागि दिइएको छ । तर, साघुरो भएकाले समस्या बेहोर्दै आएमा छन् । यसैगरी सत्तापक्ष दलको संसदिय दलको बैठक पनि मुख्यमन्त्री डोरमणि पौडेलको क्वाटरमा बस्नुपर्ने बाध्यता भोग्दे आएका छन् । त्यसैले पनि सत्तापक्ष दलको कार्यालय निर्माण गर्नका लागि यो रकम छुट्याएको हो ।

एक करोड २० लाखमा प्रदेश सभा समितिको कार्यालय

प्रदेश नम्बर ३ संसद सचिवालयले चालु आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँ खर्च गरेर प्रदेश सभा समितिहरुको कार्यालय निर्माण गर्ने तयारी गरेको छ । प्रदेश सभामा समितिहरुको कार्यालय नहुँदा समितिका बैठक, छलफल प्रदेश सभाकै हलमा गर्नुपर्ने बाध्यता छ । त्यसैले पनि प्रदेश सभाका समितिहरुको समस्यालाई मध्यनजर गरेर भवन निर्माण गर्न लागिएको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । टेण्डर मार्फत दुबै कार्यालयका भवनहरु निर्माण गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षका लागि यो रकम छुट्याइएको हो ।

प्रदेश सभा भवन निर्माणका लागि साढे ४ करोड

प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको भवन निर्माण आउँदो आर्थिक बर्ष २०७६–०७७ मा गरिने भएको छ । निकै साघुरो र समस्याका बिचमा प्रदेश सभा सञ्चालन हुँदै आएको छ । यो समस्याको समाधान गर्नका लागि आउँदो आर्थिक बर्षका लागि प्रदेश सभा भवन निर्माण गर्नका लागि बजेट छुट्याएर भवन निर्माण गर्न लागिएको हो ।

प्रदेश सभा भवन निर्माण गर्नका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बजेट मार्फत सार्वजनिक गर्नुभएको छ । तर, प्रदेश सभाको भवन कहाँ निर्माण हुने भन्ने अझै पनि समस्या छ । प्रदेश ३ को राजधानीको टुङ्गो नलाग्दा प्रदेश सभा भवन कहाँ निर्माण गर्ने भन्ने टुङ्गो नलागेको हो ।

प्रदेश सभा गठन भएको दुईवर्ष पुग्नै लाग्दा समेत राजधानीको टुङ्गो नलाग्दा सांसदहरु निकै आक्रोसीत भएका छन् । यता प्रदेश सभा संगै अरु मन्त्रालयको भवन निर्माण र प्रदेश स्तरका कार्यालयहरु कहाँ निर्माण गर्ने भन्ने समस्या बडेको छ । प्रदेशभाको भवन अहिले सानो तरिकाले थोरे खर्चमा निर्माण गर्न लागिएको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।

साउन लागेपछी यसको निर्माणको काम सुरु गरिने उहाँको भनाइ छ ।प्रदेश सभामा लाईब्ररी र ईलाइब्ररी निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यस्तै भिआइपी तथा साधरण पार्किङ निर्माणका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै प्रदेश सभाका समितिहरुको कार्यालय सञ्चालनका लागि एक करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको मन्त्री ढुंगेलले बजेट मार्फत सार्वजनिक गर्नुभएको छ ।प्रदेश सभाको व्यारेक निर्माणका लागि ८० लाख रुपैयाँ, सुरक्षा सेल्ट्री पोष्ट निर्माणका लागि ३० लाख रुपैयाँ, सभामुख सानु कुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङको सचिवालय निर्माणका लागि ५८ लाख ३० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*