शेयर बजार सुधारका लागि पहल गर्छु : अर्थमन्त्री पाैडेल

जनपत्र
१४ पुष २०७९, बिहीबार १७:३८

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीका समस्याकाे समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताउनुभएको छ ।

आज बिहीवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका समस्याको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताउनुभएको हो । उहाँले चेम्बरले देशको आर्थिक समुन्नतिका लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताउनुभयो । देशको आर्थिक उन्नति अहिले सबैको सरोकारको विषय भएको बताउँदै उहाँले चेम्बरले उठाएका मागलाई छलफल गरेर सकारात्मक समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासङ्घसँगको छलफलमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले व्यवसायीको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्ने बताउनुभयो । त्यस्तै उहाँले शेयर बजार सुधारका लागि आवश्यक पहल गर्ने आश्वासन पनि दिनुभयाे ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मन्त्री पौडेललाई बैंकको उच्च ब्याजदर र चालु पँजी कर्जाको कारण अर्थतन्त्र सङ्कुचनमा परेको बताउनुभयो । उहाँले बैंकको ब्याजदरलाई व्यवस्थित गर्न र चालु पुँजी कर्जालाई तत्कालका लागि स्थगित गर्न माग गर्नुभयो । अध्यक्ष मल्लले मन्त्री पौडेललाई बैंकको ब्याजदर एकल अङ्कमा ल्याउन आग्रह गर्नुभयो ।

अध्यक्ष मल्ले भन्सारमा वस्तु आयात गर्दा लिने सन्दर्भ मूल्यका कारण भन्सार एकीकृत नभएको भन्दै सन्दर्भ मूल्यलाई कारोबार मूल्यको मान्यता दिन पनि आग्रह गर्नुभयो । उहाँले बैंकले कर्जामा लिने प्रिमियम दर बढीमा दुई प्रतिशत कायम गर्नुपर्ने बताउनुभयो । सरकारले चालु पुँजी कर्जा मार्गदर्शन लागू गरे धेरैजसाे उद्योग बन्द हुने उहाँकाे दाबी छ ।

त्यस्तै अर्थमन्त्रीसँगको भेटमा शेयर लगानीकर्ता सङ्घका पूर्वअध्यक्ष छोटेलाल रौनियारले शेयर लगानीकर्ताले महिनामा एक करोड २० अर्ब रुपैयाँ कर तिर्ने गरेको तर अहिले शेयर बजारमा गिरावट आउँदा लगानीकर्ताको धेरै आम्दानी घटेको गुनासाे गर्नुभयाे । उहाँले क्यापिटल गेनमा लाग्ने सात प्रतिशत कर पाँच प्रतिशतमा ल्याउँदा पुँजी बजारलाई सञ्जीवनीको काम गर्ने बताउनुभयो ।

यस्तै नेपाल उद्योग व्यापार महासङ्घले मन्त्रिपरिषद्ले गरेको पहिलाे निर्णय कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै शेयर लगानीकर्ता सङ्घले पनि विभिन्न माग राख्दै अर्थमन्त्रीसँग भेट गरेको छ । आजै लघुवित्त वित्तीय सङ्घले पनि अर्थमन्त्री पौडेलसँग भेट गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*