महान्यायाधिवक्ता डा. पोखरेलद्वारा शपथ ग्रहण
काठमाण्डाै – नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहीवार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डकाे सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई हिजाे बुधवार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
अधिवक्ता डा. पोखरेल प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का निवासी हुनुहुन्छ । अधिवक्ता डा. पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्यान्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ । यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीमगरको कानुनविज्ञका रूपमा काम गर्नुभएको थियो ।