पासपोर्ट बनाउन सास्ती उस्तै, कहिले कार्यान्वयनमा आउँछ सरकारी निर्णय ?
नवगठित मन्त्रीपरिषदको सोमवार बेलुकी बसेको पहिलो बैठकले राष्ट्रिय परिचयपत्र, पासपोर्ट तथा लाइसेन्स लिन नागरिकले खेप्दै आएको सास्ती हटाउने निर्णय गर्यो । जनचासो र सरोकारका विषयमा परिणाम देखिने गरी काम गर्ने वाचा गरेको सरकारको यो निर्णयपछि धेरैलाई लाग्यो, ‘अब पासपोर्ट र लाइसेन्सको लागि पहिलेजस्तो रातभर लाइन बस्नु पर्दैन । निर्णय उतिखेरै कार्यान्वयनमा नआए पनि केही त पक्कै सुधार हुन्छ ।’ फलस्वरुप पासपोर्टको लागि बायोमेट्रिक गर्न तथा फर्म भर्ने ‘डेट’ पाइन्छ भनेर झिसमिसेमै विभाग वरपरका साइबर तथा गेटमा सेवाग्राहीको भिड लाग्यो । तर, सरकारको निर्णयबाट आशावादी हुँदै विभागको गेटमा पुग्दा झन धेरै लाइन देखेपछि सेवाग्राही निराश देखिएका छन् ।
यस्तै निराश अनुहार लिएर राहदानी विभाग बाहिर लाइनमा बसिरहनु भएको छ, धादिङका भिम खाती । उहाँ छिटो पासपोर्ट चाहिएकोले धादिङबेसीमा पासपोर्ट नबनाइ काठमाण्डौ आउनु भएको हो । तर, काठमाण्डौ आएको चार दिन भइसक्दा पनि अनलाइन फर्म भर्न पाउनु भएको छैन । उहाँ भन्नुहुन्छ, ‘भित्र गएर सोध्यो दुई हजार डेट पठाएको छु भन्छन् बाहिर साइबरमा आएर सोध्यो डेट नै छैन भन्छन् । पाँच हजारसम्म दिने हो भने मिलाइदिन सकिन्छ भन्ने कुरा पनि गर्छन् ।’






