संसद अधिवेशनका लागि तयारी पूरा : पदाधिकारीलाई दिन गाडी अभाव
काठमाण्डाै – संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको जनाएको छ ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताउनुभएको हो । सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ । संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ । सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरु सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ ।’
सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ । सहायक प्रवक्ता धमालाले संसदका पदाधिकारीहरुलाई दिइने गाडीको भने अभाव रहेको बताउनुभयो । सचिवालयसँग स्रोत नभएको भन्दै उहाँले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दा पनि उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो । यस्तै उहाँले संघीय संसद सचिवालयमा स्रोतको अभाव हुँदा पनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाउनु भयो ।