कांग्रेस संसदीय दलको आज चुनावः हेटौँडामा लामा र बानियाँ पक्ष जुट्दै, रात्रिभोजले पार्टीभित्र बबन्डर
हेटौंडा । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । कांग्रेस बागमती प्रदेश निर्वाचन समितिले मंगलबार अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
दलको नेता चयनका लागि निर्वाचनसम्बन्धी कार्यक्रम सुरु भएसँगै निर्वाचनमा होमिएका दुई पक्षका प्रदेशसभा सदस्यहरू हेटौँडामा जुट्दै छन् । दलको नेताका लागि कांग्रेस संस्थापन पक्षकै दुई नेता नुवाकोटका बहादुर सिं लामा र मकवानपुरका इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुँदैछ ।
पार्टी केन्द्रीय सदस्य तथा यसअघि प्रतिनिधिसभा सदस्य भइसकेका लामा मुख्यमन्त्री हुन प्रदेशमा झरेका हुन् भने पार्टी प्रदेश सभापतिसमेत रहेका बानियाँ प्रदेशसभाको पहिलो कार्यकालमा पाँच वर्ष कांग्रेस संसदीय दलको नेता थिए ।
लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् । उनीहरूबीचको भिडन्त थप रोचक बन्ने देखिएको छ । रोचक यस कारण की, बानियाँले मंगलबार दिउँसो पार्टी जिल्ला कार्यालयमा सांसदहरू बोलाएर स्वागत गरेका थिए । लामा पक्षले पनि हेटौँडामै स्वागत कार्यक्रम गरेको थियो । लामा पक्षका सांसदहरू उपस्थित भए पनि लामा भने कार्यक्रममा आएका थिएनन् । उनी हेटौँडा बेलुका आइपुग्ने जनाइएको छ ।
बानियाँले स्वागत मात्र नभई, हेटौँडा–५, स्थित एक रिसोर्टमा रात्रिभोजको समेत व्यवस्था गरेका छन् । स्वागत कार्यक्रममा अध्यक्षता गरेका पार्टी जिल्ला सभापति बुद्ध लामाले सांसदहरूका लागि रिसोर्टमा रात्रिभोजको व्यवस्था गरेको भन्दै निम्ता दिएका थिए । उनले प्रदेशको स्वागत तथा जलपान कार्यक्रम रहेको बताएका थिए ।
निर्वाचनको मतदानको दिनअगाडि र मतदाता नामावली प्रकाशन भइसकेपछि आयोजना गरिएको रात्रिभोजले कांग्रेसभित्र बवन्डर मच्चिएको छ । बानियाँको रात्रिभोजको विरोध उनकै प्रदेश समितिका महामन्त्रीले गरेका छन् । ‘हार्दिकतापूर्वक हुन लागेको निर्वाचनमा बानियाँले सांसदहरूलाई दबाब र प्रभावमा राख्न खोजे । यो लोकतान्त्रिक पार्टीभित्रको मूल्य, मान्यताभित्र पर्दैन,’ पार्टीका प्रदेश महामन्त्री राजु श्रेष्ठले शिलापत्रसँग भनेका छन् ।
‘प्रदेश समितिको स्वागत भनिएको छ । तर, यो एउटा उम्मेदवारको रात्रिभोज हो,’ उनले भने । निर्वाचनको मुखमा गरिने रात्रिभोजले कांग्रेसको लोकतान्त्रिक चरित्रलाई पनि बदनाम गर्ने महामन्त्री श्रेष्ठ बताउँछन् । निर्वाचनमा रात्रिभोज गर्नेले की लोकतन्त्र नबुझको त की दम्भ देखाएको श्रेष्ठको आरोप छ । आफूले रात्रिभोज कार्यक्रम रोक्न निर्वाचन समितिलाई भनेको उनको भनाइ छ ।
लामा र बानियाँको तानातानमा सांसद
संसदीय दलको नेताका उम्मेदवार बन्दै गरेका लामा र बानियाँको तानातानमा कांग्रेसका प्रदेश सांसदहरू परेका छन् ।
बागमती प्रदेशसभामा कांग्रेसको कुल ३७ जना सांसद छन् । निर्वाचनबाट प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट ल्याएको थियो । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । जसमध्ये ३२ जना सांसद संस्थापन पक्षको र ५ जना सांसद संस्थापनइतर समूहका रहेको जनाइएको छ । संस्थापनभित्रै प्रतिस्पर्धा हुने भएपछि लामा र बानियाँलाई जितको लागि शेखर कोइराला पक्षको ५ जना सांसदको मत निर्णायक हुने देखिएको छ ।
लामाले २३ जना सांसदको नामावली बोकेर हेटौँडा आउन लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ । ‘बहादुर दाईको पक्षमा २३ जना सांसद देखिनुभएको छ । उहाँले सुविधाजनक ढंगले चुनाव जित्नुहुन्छ,’ स्रोतले नाम उल्लेख नगर्ने सर्तमा शिलापत्रसँग भन्यो । लामा पक्षले भने बानियाँसँग १४ जना सांसद रहेको हिसाब निकालेको छ ।
मंगलबार पार्टी कार्यालयमा भएको स्वागत कार्यक्रममा १६ जना सांसद सहभागी भएका थिए । १६ जनामध्येबाटै २ जनाले लामालाई मत दिने स्रोतको दाबी छ । ‘बहादुर दाईको पक्षमा पार्टी सभापतिदेखि शिर्ष नेताहरू लाग्नुभएको छ । इन्द्रजी भन्दा बहादुर दाई सिनियर नेता पनि हुनुहुन्छ । उहाँको प्रभाव छुट्टै छ,’ स्रोत भन्छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत् भोलि १३ पुस बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने समय प्रदान गरिएको छ । भोलि नै दिउँसो १ बजेर ४५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिको निर्वाचन कार्यतालिकामा उल्लेख छ । शिलापत्रबाट ।