कांग्रेस केन्द्रीय समिति बैठक २२ पुसमा

प्रतिनिधिसभा निर्वाचनपछि संसदको ठूलो दल बनेको नेपाली कांग्रेसले सत्ता बाहिर पुगेपछि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै २२ पुसका लागि बैठक डाकेका हुन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी सूचनाअनुसार बैठक २२ पुसको दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने सूचनामा उल्लेख छ ।
कांग्रेसले पार्टीबाट समानुपातिक सांसद चयन गर्दासमेत कार्यसम्पादन समितिको बैठक बोलाएरै निर्णय गरेको थियो । निर्वाचनपछि केन्द्रीय समिति बैठक भने पहिलोपटक बस्न लागेको हो ।
बैठकमा कांग्रेसका कतिपय नेताले पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको भन्दै नेतृत्वप्रति प्रश्न उठाउने तयारी गरेका छन् ।