विदेशी नागरिकलाई जनवरी ८ बाट चीनमा क्वारन्टीन बस्नु पर्दैन
चीनले आफ्नो देशमा आगमन गर्ने यात्रुहरू क्वारन्टिनमा बस्नुपर्ने नियम अन्त्य गर्ने घोषणा गरेको छ । सो देशले जनवरी ८ बाट त्यस्तो अन्त्य हुने घोषणा गरेको हो । चीनले अपनाउँदै आएको शून्य कोभिड नीतिअन्तर्गत लगाइएका प्रतिबन्ध शृङ्खलाबद्ध रूपमा हटाउने क्रममा गरिएको यो पछिल्लो घोषणा भएको बताएको छ । कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको बताइएको छ । स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताउँदैआएका छन्।
कोभिडबारेका नियम परिवर्तन सम्बन्धमा राष्ट्रपति सी जिनपिङले अधिकारीहरूलाई जीवन बचाउन जे “सम्भव” हुन्छ त्यही गर्न आह्वान गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार देशले नयाँ अवस्थाको सामना गरेको र त्यसप्रति थप लक्षित प्रतिक्रिया जनाउन आवश्यक रहेको उनले बताएको जनाएका छन्।
चीनले कोभिडबारेका नयाँ तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेको छ । प्रत्येक दिन संयौं मानिसको ज्यान गइरहेको हुनसक्ने ठानिएको भएपनि प्रतिवेदन बाहिर नआएपछि त्यसबारे सबै बेखवर छन् । सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वारन्टिनमा बस्नुपर्ने बाध्यकारी नियम लगाइएको थियो। तर त्यसरी क्वारन्टिन बस्नुपर्ने समय तीन साताबाट अहिले पाँच दिन बस्नुपर्ने गरी घटाइएको छ ।
नयाँ नियमअनुसार कोभिडलाई ए वर्गको सङ्क्रामक रोगबाट बी वर्गमा झारिएको छ । जसको अर्थ अब क्वारन्टिनमा बाध्यकारी रूपमा बस्नुपर्दैन भन्ने चिनको सन्देश छ । चीनले कोभिड महामारीको व्यवस्थापन कसरी गरेको थियो भन्ने विषयले राष्ट्रपति सीलाई अप्ठ्यारो स्थितिमा लगेको विश्लेषकहरूको भनाइ छ । अर्थतन्त्रलाई असर परेको र मानिसको जीवनलाई त्यसले धेरै हदसम्म प्रतिबन्धात्मक बनाएको आरोप चीनमाथि लाग्दैआएको छ।






