आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै
आज पनि देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले केही स्थानमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने विभागको भनाइ छ ।
विभागका अनुसार आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपात जारी रहने छ ।
त्यस्तै, भोलि बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र प्रदेश १ को उच्च पहाडी भूभागमा हिमपात हुनेछ ।
सोहीअनुसार १४ गते बिहीबार दिउँसो देशभर आंशिक बदली रहने छ । विभागका अनुसार प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पछिल्लो २४ घण्टामा हिमाली भूभाग, पहाडी भूभागमा चिसो कायमै रहने र तराईका जिल्लामा हुस्सु र कुहिरोका कारण चिसो अत्यधिक बढ्ने भन्दै विभागले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज राति काठमाडौं उपत्यकामा अत्यधिक जाडो महुशस गरिएको छ । राति काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियसमा झरेको विभागले जनाएको छ । यो अहिलेसम्मकै न्यूनतम तापक्रम हो ।
त्यस्तै, जिरीको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियसमा पुगेको छ । त्यस्तै, जुम्लाको माइनस ४ र जोमसोमको न्यूनतम तापक्रम माइनस ६ मा झरेको विभागले जनाएको छ ।






